पाल्पाका उम्मेदवारको अटेरी : न चुनावी खर्चको विवरण पेश, न स्पष्टीकरण

हिमालय टाइम्स
Read Time = 7 mins

-रामचन्द्र रायमाझी
पाल्पा । स्थानीय तह निर्वाचन भएको चार महिनासम्म पनि पाल्पामा ९ सय २३ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र उम्मेदवारले खर्चको बिल भर्पाइ पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । वैशाख ३० मा भएको निर्वाचनमा पालिकाहरूको अन्तिम परिणाम फरक–फरक समयमा आएको थियो ।

निर्वाचन कार्यालय पाल्पाका अनुसार ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले भने आयोगले सोधेको स्पष्टीकरण नै पेस गर्न अटेर गरे । जिल्लामा स्थानीय तह निर्वाचन २०७९ मा होमिएका एक हजार ७२ उम्मेदवारमध्ये ९ सय २३ ले तोकिएको समयमा खर्च विवरण बुझाएका थिएनन् । उनीहरूलाई आयोगले लिखित स्पष्टीकरण बुझाउने ७ दिन समय दिएको थियो । तर सो समयमा जिल्लाका ७ सय ६४ जनाले मात्रै लिखित स्पष्टीकरण पेस गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले बढीमा साढे सात लाख रुपैयाँसम्म खर्च गर्न सक्ने सीमा तोकेको थियो । महानगर प्रमुख–उपप्रमुखले बढीमा ७ लाख ५० हजार, उपमहानगर प्रमुख–उपप्रमुखले बढीमा ५ लाख ५० हजार, नगरपालिका प्रमुख–उपप्रमुखले ४ लाख ५० हजार र गाउँपालिका अध्यक्ष–उपाध्यक्षले ३ लाख ५० हजार निर्वाचन प्रचारमा खर्च गर्न पाउने सीमा निर्धारण गरिएको थियो ।

निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका १ सय ५९ उम्मेदवारको कारवाही प्रक्रिया अगाडि बढेको छ । दुुई नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा पटक–पटक ताकेता गर्दासमेत खर्च विवरण बुझाउन अटेरी गरेकाले ९ सय २३ जनालाई स्पष्टीकरण सोधिएको थियो । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण अझै दिएका छैनन् । उनीहरुले न खर्च विवरण बुुझाएका छन् न त स्पष्टीकरण नै । उम्मेदवार बनेर खर्च विवरण नबुझाएकाहरूलाई पटक–पटक स्पष्टीकरण सोधिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रुक्मांगत अर्यालले बताउनुुभयो । यहाँ १ सय ४९ जनाले मात्र समयमै खर्च विवरण पेश गरेका थिए । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७७ जना कार्यपालिका सदस्यहरु मध्ये १२ जनाले मात्र समयमै खर्च विवरण बुुझाएका छन् । ४ जनाले विलम्ब गरी पेस गरे पनि उनीहरु स्पष्टीकरणमा परे । निर्वाचन कार्यलयले स्पष्टीकरणका लागि पुनः सूचना जारी गरेपछि ६५ जना मध्ये ४२ जनाले स्पष्टीकरण दिएका छन् भने २३ जनाले दिएनन् । यस्तै जिल्ला समन्वय समिति पाल्पाका १८ जना उम्मेदवारहरु मध्ये ३ जनाले मात्र समयमै खर्च विवरण बुुझाएका छन् । निर्वाचन अधिकृत अर्यालका अनुसार जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशीका ज्ञवाली र समन्वय प्रमुखका उम्मेदवार नेपाली काँग्रेसका नेता यमलाल तिमिल्सीनाले समयमै खर्च विवरण बुुझाएका हुुन् । समयमै पेश नगर्ने १५ जना मध्ये पछि ७ जनाले स्पष्टीकरण दिएका छन् भने बाँकी ८ जनाले दिएनन् ।
यस्तै अहिलेसम्म विवरण नबुझाउनेमा तानसेन नगरपालिकाका ४९, रामपुर नगरपालिकाका २१, तिनाउ गाउँपालिकाका २५, निस्दी गाउँपालिकाका ३, पूर्वखोला गाउँपालिकाका ७, बगनासकाली गाउँपालिकाका ९, माथागढी गाउँपालिकाका २७, रम्भा गाउँपालिकाका ३, रिब्दीकोट गाउँपालिकाका ७, रैनादेवी छहरा गाउँपालिकाका ७ जना रहेका छन् ।

विवरण नबुझाउने र समय सकिएपछि बुझाउने एउटै भएको आयोगको ठहर छ । निर्वाचन आयोग ऐनमा उम्मेदवारले खर्च विवरण नबुझाएमा ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘निर्वाचन खर्चको विवरण पेस नगरेमा वा पेस भएको विवरणमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ, सो बराबरको रकम जरिवाना गर्न सक्नेछ ।’ कानुनमा तोकिएको ६ महिनासम्म जरिवाना नतिरेमा ६ वर्षसम्म उम्मेदवार हुनै नपाउने कानुनी व्यवस्थासमेत छ । ‘जरिवाना ६ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्नेछ’ ऐनको दफा २६ को उपदफा ३ मा उल्लेख छ ।

कानुनअनुसार जरिवाना नबुझाउनेलाई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नसमेत अयोग्य हुने गरी पहिचान गर्न आयोगले प्राविधिक पाटो मिलाइरहेको छ । उम्मेदवारको सबै विवरण आयोगको ‘सिस्टम’मा राखिन्छ । यसरी विवरण राख्दा कारबाहीमा परेको यकिन भएमा उम्मेदवारी खारेज हुने छ । यसअघि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकै कारण स्थानीय तह निर्वाचनमा केही उम्मेदवारको उम्मेदवारी खारेज भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?