बलात्कृत ८ बर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, पीडकबाट धम्की

हिमालय टाइम्स
Read Time = 3 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-८ की ८ वर्षीया बालिका १५ असारमा बलात्कृत भइन् । स्थानीय दाजु पर्ने १५ वर्षका किशोरले उनलाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए । पीडक किशोर अझै फरार छन् ।

बेहोस अवस्थामा बालिकाकी आमाले फेला पारेकी उनलाई एक हप्ता जिल्ला अस्पतालमा राखियो । त्यसपछि २० दिन घरमै बसेकी उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि ११ साउनमा पुनः अस्पतालमा ल्याइयो । यसपटक भने उनलाई चार दिन अस्पताल भर्ना गरिए पनि उपचार हुन सकेको छैन । अहिले बालिका हिँड्न नसक्ने भएकाले बोकेर लग्नुपर्छ ।

पीडित बालिकाकी आमाले भन्नुभयाे, ‘छोरीको थप उपचारका लागि धनगढी लग्नुपर्ने हो । हामीसँग एक रुपैयाँ छैन । कतैबाट सहयोग हुन्छ की भन्दै नगरपालिकामा पनि गयौँ । केही सहयोग पाइएको छैन । सहयोग पाउने आश छ । प्रहरीमा उजुरी गरेका थियौँ । अहिलेसम्म पक्राउ गरिएको छैन् । झन पीडक व्यक्तिको परिवार र गाउँलेबाट उल्टै धम्की आइरहेको छ ।’

पीडित बालिकाका बुवा अपांग हुनुहुन्छ । उहाँ जन्मजात आँखा नदेख्ने हुनुहुन्छ । तीन सन्तानकी आमा रहेकी पीडित बालिकाकी आमाले मजदुरी गर्दै हुर्काएकी छोरी नै बलात्कृत भएपछि अहिले उक्त परिवारमा ठूलो आर्थिक समस्या परेको छ ।

यसरी भयो घटना

बालिकाकी आमा खेतमा मकै गोड्न गएकाे बेला आमालाई घर बोलाउन गएकी बालिका चिउरी खान गइन् । त्यसै बेला कतैबाट आएका किशोरले उनलाई तानेर झाडीमा लगेर करणी गरे ।

पाँच वर्षीय गाउँले बालकले छोरीलाई फलानोले पिटिरहेको भन्दै खबर गरेपछि २ घण्टापछि घटनास्थलमा पुगेकी आमाले छोरीलाई बेहोस अवस्थामा भेट्नुभएकाे थियाे । हाडनाता करणी भएकी बालिकाकी आमाले प्रहरीमा खबर गरेका कारण पीडकको परिवारबाट बेला बेलामा धम्की आइरहेको पीडित बालिकाकी आमा बताउँनुहुन्छ ।

उहाँले भन्नुभयाे, ‘हामी गाउँ घरमै कुरा मिलाउथ्यौँ । किन प्रहरीमा रिपोर्ट गरेको भन्दै धम्की आउँछ । अब तिम्रो हाम्रो परिवारको रिसइबी सुरु भइसक्यो भन्छन् । म गरिब मान्छे के गरु । ’

पीडक किशोर अझै फेला नपरेकाले खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?