धादिङ अस्पताल तीन वर्षदेखि प्रशासन अधिकृतविहीन

हिमालय टाइम्स
Read Time = 4 mins

 -बाबुराम श्रेष्ठ

धादिङ । धादिङ अस्पताल विगत तीन वर्षदेखि प्रशासन अधिकृतविहीन भएको छ । अस्पतालका प्रशासन अधिकृत हरि ढकाल २०७७ साल साउन महिनामा यातायात व्यवस्था कार्यालय गुर्जुधारा काठमाडौंमा सरुवा भएपछि धादिङ अस्पतालमा अधिकृतविहीन भएको हो । बागमती प्रदेश सरकारले प्रशासन अधिकृत सरुवा अथवा कुनै व्यवस्था नगर्दा धादिङ अस्पतालमा अधिकृतविहीन भएको छ । अहिले अस्पताल प्रशासन अधिकृत बस्ने कोठामा विभिन्न सामग्रीहरूको गोदाम रहेको छ ।

मन्त्रिस्तरीय निर्णयअनुसार धादिङ अस्पतालका प्रशासन अधिकृतको सरुवा गरिएको थियो । दरबन्दीअनुसार बागमती प्रदेश सरकारले अस्पतालमा अधिकृत पठाउन नसक्नु लज्जापद कुरा हो । धादिङ अस्पतालमा अधिकृतको दरबन्दी एकजना रहेको छ । अहिले सो क्षेत्रमा कुनै अनुभव नै नभएका अस्पतालकै एक कर्मचारीले निर्णयविपरीत आफूखुसी काम गर्दै आइरहेको पाइएको छ । जसकारण अस्पतालको प्रशासन निकायमा भद्रगोल भएको अस्पतालका एक जिम्मेवार व्यक्तिले जानकारी दिनुभयो ।

‘अस्पतालमा विगत तीन वर्षदेखि प्रशासन अधिकृत छैन, काम गर्न अप्ठ्यारो भएको छ, अब के गर्ने । बागमती प्रदेश सरकारलाई पटक–पटक जानकारी गराएको हो । एकजना प्रशासन अधिकृत पठाएको थियो । तर, अस्पतालकै केही कर्मचारीले राजनीतिक आड र पावरका कारण उहाँको सरुवा रोकेको भनी सुन्न आएको छ । सत्य के हो ? कसैलाई थाहा छैन । हावा नआई पात कसरी हल्लिन्छ र । वास्तवमै भन्ने हो भने तीन वर्षदेखि प्रशासन अधिकृतविहीन किन भयो ? बागमती प्रदेश सरकारसँग प्रशासन अधिकृत नभएकै हो त ?,’ उहाँले भन्नुभयो ।

धादिङ अस्पतालसँग गत आर्थिक वर्षको आयव्यय माग्ने हो भने सम्बन्धित निकायका कर्मचारीहरूले आयव्यय विवरण दिन सक्ने अवस्था छैन । जसकारण खर्च व्यवस्थापनमा धादिङ अस्पताल अत्यन्तै कमजोर हुन पुगेको छ । यस विषयमा धादिङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. मधुकर दाहाल भन्नुहुन्छ, ‘अस्पतालमा प्रशासन अधिकृतविहीन भएको तीन वर्ष भयो, काम गर्न समस्या भएको छ । बागमती प्रदेश सरकारले पठाएको कर्मचारी अन्तै सरुवा भएको सुनेको छु, के कारणले हो मलाई जानकारी छैन । तर, मैले जिम्मेवारी वहन गरेपछि अस्पतालको मुहार फेरेको छु, अस्पतालको सेवा सुविधालाई उत्कृष्ट बनाउन दिनरात नभनी लागिपरेको छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?