थप तीन सबस्टेसन र कोसी करिडोर प्रसारण लाइन सञ्चालन

Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले एकै दिन २२० किलो भोल्ट (केभी) का तीन सबस्टेसन सञ्चालनमा ल्याएको छ । निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा वानेश्वर २२० केभी सबस्टेसनमा बिहीबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो । २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी वानेश्वर सबस्टेसनमा क्रमशः २६० एमभिए र ६० एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् ।

साथै कोसी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा-तुम्लिङटार खण्ड सिंगल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाई एक सय पाँच किलोमिटर छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनपछि प्रदेश १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रूपमा पूर्वाधार तयार भएको बताउनुभएको छ । २२० केभी प्रसारण लाइन र सबस्टेसन सञ्चालनपछि सो क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मोरङ-सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सबस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सबस्टेसनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकाले उद्योगलाई थप विद्युत् दिन सकिन्छ । साथै भोल्टेज, ट्रिपिङलगायतका समस्या समाधान हुन्छ । संखुवासभा, भोजपुर र तेह्रथुमका विद्युत् आयोजनाका विद्युत्गृह पनि ट्रिपिङ हुने समस्या थियो, अब त्यो समस्या पनि समाधान हुनेछ, कोसी करिडोर प्रसारण लाइनामार्फत् आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेसनमार्फत् भारततर्फ समेत निर्यात गर्न सकिनेछ ।’

नेपाल सरकारको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको निर्माण गरिएको हो । नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र वानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो ।

इनरुवा सबस्टेसन सञ्चालनमा नआएकाले इनरुवा-वसन्तपुर-तुम्लिङटार प्रसारण लाइनलाई अस्थायीरूपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारणलाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको थियो ।

प्रसारण लाइन र सबस्टेसन सञ्चालनपछि सो क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गर्नुभयो । सुनसरी-मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सबस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सबस्टसनमै ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सबस्टेसन निर्माण सम्पन्न भएपछि पूर्व-पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत् इनरुवा सबस्टेसनमा जोडिनेछ । कोसी करिडोरअन्तर्गत वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सबस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो ।

कोसी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, वानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ । अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?