परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै, द्विपक्षीय वार्ता हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उहाँले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा वाङ यीले भोजको आयोजनासमेत गर्नु हुनेछ ।

भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन लगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन् । पछिल्ला चार वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङसहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन्।

हालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले चार दिने भ्रमण गर्नुभएको थियो । मन्त्री खड्का बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?