सिएनआई रोजगार तथा सीप मेला हुने

Read Time = 3 mins

काठमाडौं । सिएनआईले सिएनआई रोजगार तथा सीप मेला-२०७९ आयोजना गर्ने भएको छ । आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा सिएनआई रोजगार तथा सीप मेला हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामञ्जस्यता हुन सकिरहेको छैन ? यसका लागि निजी क्षेत्र, सरकारी निकायको कस्तो भूमिका आवश्यक पर्छ भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघ (सिएनआई) को शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजन मेला आयोजना हुने भएको छ । सिएनआईका अनुसार मुलुकमा हरेक वर्ष न्यूनतम पाँच लाख व्यक्ति रोजगारीको खोजीमा हुन्छन् ।

चालकदेखि व्यवस्थापन तहसम्मका लागि विभिन्न कम्पनीले कर्मचारी माग गरिरहेको पनि देखिन्छ तर एकातर्फ आवश्कताअनुसार कम्पनीहरूले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजीमा रहेका व्यक्तिहरू आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान नसकिरहेको देखिन्छ । मेला विभिन्न कम्पनी तथा कामको खोजीमा रहेकालाई एकै ठाउँमा आबद्ध गर्न पुलको काम गर्ने आयोजकको दाबी छ । मेलाकै क्रममा रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल पनि हुने बताइएको छ । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता, सीप विकाससम्बन्धी विभिन्न विषयमा बृहत् छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञबाट प्रस्तुति, आफ्नो क्षमताअनुसारको कामका लागि कम्पनीहरूसँग सम्पर्क÷छलफल गर्न सकिनेछ ।

तीनदिने मेलामा दुई सयभन्दा बढी कम्पनी सहभागी हुने आयोजकको अपेक्षा छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थी, सेवा तथा उत्पादनमूलक उद्योग, निजी, सार्वजनिक तथा सरकारी अधिकारीसमेत गरी ५० हजारभन्दा बढीले मेला अवलोकन गर्ने बताइएको छ । मेलाबाट बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम हुने, सरकार तथा अन्य सरोकारवालालाई रोजगारदाता र रोजगारीको खोजीमा रहेकाको आवश्यकतामा काम हुने, नेपालमा विश्वस्तरीय जनशक्ति सिर्जना गर्न नीति र पाठ्यक्रमको आवश्यकताको पहिचान हुने आयोजकको अपेक्षा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?