प्रधानमन्त्रीको भारत भ्रमण, असहज मुद्दा : सहज यात्रा

प्रा. पुरुषोत्तम दाहाल
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणले नेपाली राजनीतिका विशेषज्ञहरू माझमा हल्का तरंग उत्पन्न गरे पनि असहज मुद्दा बोकेको सहज यात्रा हुन पुगेको छ, यो यात्रा । नेपाली राजनीतिमा विगत ३२ वर्ष यताको राजनीतिक नेतृत्वले पर्गेल्न नसकेको आन्तरिक राजनीति जस्तै कहिल्यै पर्गेल्न नसकेको सम्बन्ध छ, भारतसँग ।

चार दिनसम्म प्रधानमन्त्री दाहालले शिष्टाचारवश नयाँदिल्लीदेखि इन्दौरसम्म गर्नुभएको भेटघाट, यात्रा र सम्पन्न सातबुँदे सम्झौतालाई खास महत्व दिइरहनु पर्ने देखिँदैन । पारम्परिक भेटघाट, वार्ता र अनुल्लेखनीय सम्झौता विशेष मानिँदैनन् । नेपालका सन्दर्भमा नेपाल आन्तरिक रूपमा एकताबद्ध, आर्थिक रूपले सबल र सशक्त अनि अन्तर्राष्ट्रिय सामरिक अस्त्र सम्पन्न नभएसम्म नेपालसँग भारतको सम्बन्धमा परिवर्तन आउनेछ, हुनेछ वा गर्न सकिनेछ भनेर सपना देख्नु र देखाउनुको कुनै अर्थ हुँदैन । कहिलेकाहीँ सार्वजनिक खपतका लागि वक्तव्य जारी गर्नु, झण्डा गाड्न सीमातिर कुद्नु, केही थप क्रान्तिकारी हुने भए राजधानीस्थित भारतीय राजदूतावाससामु प्रदर्शन गर्नुले कुनै परिवर्तन हुने छैन । इतिहासको सौर्यलाई परास्त गरी, विगतको वीरताका कथा कथ्नु पनि निरर्थक हो । त्यो कथा रस चुसेको उखुको खोस्टा समानबाहेक केही होइन । देशको सुरक्षा र विस्तारका क्रममा, पृथ्वीनारायण शाहको सौर्य र योगदानसँगै जंगबहादुर राणाको कूटनीतिक चतुरतालाई भूमिकाहीन सम्झने आजको नेपाली परिवर्तनका नायकहरूबाट चामत्कारिक सम्बन्ध स्थापनाको अपेक्षा गर्नु आफैँ मूर्ख बन्नु हो । पृथ्वीनारायण शाह र जंगबहादुरले कूटनीतिका सिद्धान्त पढेका थिएनन् । आजको जस्तो पुस्तकका ठेली पढ्ने र मन्तव्य दिने त्यो समयखण्ड थिएन । तैपनि ती दुवैका सहयोगीहरूले नेपाली नागरिकको साथ लिएर नै यो देशको सुरक्षा र विस्तार गरेको इतिहास प्रमाणित छ ।

कुनै पनि साना ठूला राष्ट्रको प्रथम र अन्तिम अभिष्ठा आफ्नो राष्ट्रको स्वार्थरक्षा गर्नु नै हुन्छ । नेपालका दुईतिरका दुई छिमेकीहरू भारत र चीन आर्थिक रूपले, जनसांख्यिकी रूपले, स्रोत र साधनका हिसाबले, औद्योगिक र सामिरक सबै प्रकारले शक्तिसम्पन्न छन् । उनीहरूसँग कुनै पनि सन्दर्भमा नेपालको तुलना गर्न सकिँदैन । सिवाय एक कुरामा नेपाल र नेपाली जनता यी दुवै देशभन्दा महान् र गौरवपूर्ण अवस्थामा छन् । त्यो हो नेपाल कहिल्यै पनि औपनिवेशिक भएन, यसको भूमिको स्वतन्त्रता अविच्छिन्न रह्यो र आजसम्म रहेकै छ । भारत र चीन मात्रै होइन दक्षिण एसियाका अरू सबै देशहरू औपनिवेशिक दासताबाट गुज्रिएका देश हुन् । यो सत्य र आफ्ना देशको गौरवपूर्ण अतीतलाई आजको क्रान्तिकालीन परिवर्तनले किन सम्झन चाहँदैन भने त्यो इतिहासको भय व्याप्त छ उसमा ।

नेपाललाई दुई छिमेकीसहित अन्य सबै स्वार्थहरूबाट जोगाउने उपाय कसैसँग छैन । भारतका विरुद्ध गैरतार्किक रूपमा उभिनेहरू सम्पूर्णमा चीनको काखमा बस्न चाहेको देखिन्छ । त्यसैगरी, चीनको गैरतार्किक विरोध गर्नेहरूमा भारतको काखको तातोलाई तापिरहेको लाग्छ । अहिले त अमेरिका र युरोपका विरुद्ध एकप्रकारले राष्ट्रवाद जुरुक्क उठेको देखिन्छ । धर्मान्तरणको मुद्दाले नै अमेरिका युरोपविरुद्ध नेपालको परम्परागत राष्ट्रवाद ज्यादा मौलाउन पुगेको स्पष्ट छ । केही हदसम्म यो पक्ष सही हुनसक्छ । धर्मनिरपेक्षता वा धार्मिक स्वतन्त्रतालाई धर्मान्तरणको मैदान बनाउने खेल निश्चय पनि निन्दनीय छ । तर, यतिले मात्रै पश्चिमको विरोधमा नेपालको एक वर्ग रहेको छ भन्ने ठान्नु गलत हुनेछ । एकातिर राजसंस्थाको पुनरोदय खोज्ने, अर्कोतिर प्रजातान्त्रिक विश्व समुदायबाट नेपाललाई अलग्याउने रणनीतिका तह यस्तो खेल भएको स्पष्ट छ । तर, नेपाललाई धर्म र राजाको काख खोज्नेहरूले आजको भारतीय नेतृत्वको साथसमेत पाएका छैनन् ।

किनकि भारतीय नेतृत्व विदेश नीति अझ भनौँ नेपाल नीतिमा नेहरू वा इन्दिरा गान्धीकालीन रणनीतिबाट मुक्त छैन । नेपालमा सत्ता, प्रणाली परिवर्तन गर्ने सन्दर्भमा भारतको राजनीतिक नेतृत्व सदा सहयोगी भएको छ । कुनै समयमा राजाको पक्षमा, कुनै समय लोकतन्त्रका पक्षमा, कुनै समय साम्यवादको झण्डाका पक्षमा त कुनै दिन त्यो झण्डालाई सफल अवतरण गर्ने पक्षमा भारतको सहयोग रहेको देखिन्छ । नेपाली पक्षको निर्णय वा परिवर्तन भारतका लागि अप्रिय भयो वा प्रतिष्ठाका कारण चुनौती दिने जस्तो गरी विपक्षमा हुने भयो भने भारतीय नेतृत्वले नेपालविरुद्ध कहिले प्रत्यक्ष कहिले परोक्ष नाकाबन्दीको हतियार प्रहार गरेकै हुन्छ ।

प्रतिष्ठाको ताउलोमा जाउलो उमाल्ने खेलमा अब चीन पनि तम्सिएको छ । नेकपा एमालेको कार्यकालमा नेपालमा भएको राजनीतिक सरगर्मीको पृष्ठमा चिनियाँ कूटनीतिज्ञहरूको निद्रारहित सक्रियता नदेखिएको होइन । प्रत्येक वर्ष, महिना र हप्तान्तरमा नेपाली कम्युनिष्टहरूको चीन भ्रमण घटेको छैन । नेपालमा सी जिङपिङ विचारधारमाथि भाष्य गर्दै जनस्तरसम्म बहस गर्ने चीन र नेपाल सरकारका बीचको सहमति औपचारिक रूपमा नै भएको विषय हो । सायद यो सहमतिको वरिपरि रहेर विआरआई र वन्दरगाहको सम्झौता अगाडि आएपछि अमेरिकीहरूले पनि पूर्वनिर्धारित एमसिसीलाई सहमतिमा पुर्‍याउन प्रेरित गरेका हुन् । चुच्चे नक्साको पारित विषय, लिपुलेकबाट भारत र चीनबीच व्यापारिक आदानप्रदानको सहमतिसाथ सडक निर्माण, निरन्तर तराई डुबानको प्रश्न, विषादी परीक्षणको प्रश्न, अन्तर्राष्ट्रिय हवाई रुटको प्रसंग, इपिजीको प्रतिवेदन कति छन् कति नेपालले भारतसँग सम्वाद गर्नुपर्ने विषय । तर, भारतसँग संवाद र सहमतिको कुरा गर्दा हिजोको अवस्थाविपरीत आजका दिनमा चीन र पश्चिम समेतको अनुहार हेर्नुपर्ने र उनीहरूको बडिल्यांग्वेज बुझ्नुपर्ने हुन्छ । जुन समय पहिलोपल्ट भारतीय जनता पार्टीको नेतृत्व गर्दै नरेन्द्र मोदी प्रधानमन्त्री हुनु भएको थियो त्यसबेला नेपालले भारतीय राजनीति र कूटनीतमा थप भएर आएको सांस्कृतिक आयामको दोहन गर्नुपर्ने थियो । ठिक यसका विपरीत मोदीविरुद्ध नेपाली राजनीति अनावश्यक उत्तेजित हुन पुग्यो । संविधान जारी गर्ने दिन २०७२ असोज ३ सम्म त यसमा अनगिन्ती ऐँजेरु पलाइसकेका थिए ।
यो जटिलतम अवस्थामा नेपालको नेतृत्वलाई अरू कसैले पुर्‍याएको पटक्कै होइन । आफ्नो महत्वाकांक्षा पूरा गर्न निरन्तर त्वं शरणम्को चक्रव्यूह नेपाली नेतृत्वले नै विकास गरेको हो । यसैका कारण त्रिपक्षीय जटिलताको भुमरीमा नेपालको अवस्था पुगेको छ ।

नेपाल राजनीतिमा आत्मनिर्भर नभएसम्म त्रिकोणत्मक व्यूहबाट मुक्त हुने कुनै सम्भावना छैन । हावादारी गफ, उत्तेजक भाषा र भाषणले झन् व्यूहलाई कसिलो बनाउने उद्योग गर्दछ । यतिखेर फरक स्वार्थका विचार सम्पे्रषण देख्दा यो देशले यस युगमा आफूलाई समृद्ध, विकसित, राजनीतिमा आत्मनिर्भर, अर्थतन्त्रमा परस्पर निर्भर तथा संस्कृति र सभ्यतामा गौरवयोग्य हुँदैन कि भन्ने लाग्दछ । यो कुनै निराशाको विषय होइन आजको यथार्थता नै हो ।

स्वदेशभित्र माफी र नागरिकताले तताइरहेको माहोलबाट प्रधानमन्त्री दाहाल र उहाँका सहयोगी यात्रुहरूले ४० डिग्रीको तातोमा आफ्नो आँतलाई थप तताउने अवसरको लाभ लिनु पनि निकै उपलब्धिमूलक होला । तैपनि गौतम बुद्ध अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रको अनुमति, र दीर्घकालीन ऊर्जा व्यापार सम्झौतालाई सकारात्मक मान्नुपर्ने हुन्छ । त्यहाँको निष्कण्टक तातोबाट स्वदेश फर्कनुभएका प्रधानमन्त्रीका लागि स्वदेशका मुद्दाहरू भुंग्रो जस्ता नबनून् । सम्बन्धमाथि हुने भाष्यहरू भनेका सदा तपसिलका विषय हुन् धेरै चिन्ता गरिरहनु पर्दैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?