लाओसको कन्सुलरमा श्रेष्ठ नियुक्त

Read Time = 2 mins

काठमाडौं । जनवादी गणतन्त्र लाओसले नेपालका लागि वाणिज्य दूत (कन्सुलर) मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन व्यवसायी श्रेष्ठलाई बिहीबार आयोजित कार्यक्रमबीच नेपालसमेत हेर्ने दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ् र शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीले वाणिज्यदूतको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

श्रेष्ठलाई वाणिज्य दूतमा नियुक्तिसँगै लाओको महावाणिज्य दूतावास काठमाडौंमा स्थापना भएको छ । काठमाडौंको ठमेलस्थित नेपाली घरमा स्थापित महावाणिज्य दूतावासको बिहीबार दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङले उद्घाटन गर्नुभएको हो ।

नवनियुक्त वाणिज्य दूत श्रेष्ठले नेपाल र लाओबीच सन् १९६० मा द्विपक्षीय कूटनीतिक सम्बन्ध विस्तार भएको स्मरण गर्दै आफूले दुई मुलुकबीचको कूटनीतिक तथा आर्थिक सामाजिक सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

श्रेष्ठले नेपालका ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतले लाओवासीको आँखा उपचारका लागि क्याम्प चलाएको जानकारी दिँदै आगामी दिनमा पनि यसरी नै आपसी सम्बन्ध विस्तार गर्दै लैजाने बताउनुभयो । कार्यक्रममा लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङले पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा नेपालसँग लाओवासीले सहकार्य गर्न चाहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?