पर्यटक पर्खंदै म्याग्दीको पानी उड्ने झरना

हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । विशाल चट्टाने पहरोको सिरानबाट हामफाल्दै पहराको बीचमा पहिलो खण्ड र त्यसपछि बीच पहरोबाट जंगलको सिरानमा दोस्रो खण्ड भएर पानी उड्ने म्याग्दीको उडाइनो झरनाले पर्यटकहरूलाई कुरिरहेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब चार किलो मिटर पश्चिम बेनी नगरपालिका–२ बगरफाँट गाउँको सिरानमा पर्ने यो छहराको पानी उड्ने र तलबाट हेर्दा निकै आकर्षक देखिने भएकाले यो झरना प्रकृतिप्रेमी पर्यटकको प्रतिक्षामा छ ।

पुछारमा कलकल गर्दै बगेको म्याग्दी नदी । नदीको तटमा लमतन्नै परेको खेतको फाँट । परम्परागत र आधुनिक शैलीका घरले चिटिक्क सिँगारिएको बगरफाँट गाउँ । गाउँको सिरानमा रहेको घना जंगल छिचोलेर यस झरनाको फेदमा पुग्न सकिन्छ । जंगलको माथिपट्टि विशाल भिर रहेको छ । त्यही भिरको मुख्य पहाड काटिएर अंग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलँदै अर्धसोली आकारमा झरेको छ पानी उड्ने/उडाइनो झरना । सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभिर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँट कटेपछि उडाइनो झरना पुग्न सकिन्छ ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरू हेर्दै करिब चार किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । करिब २०० मिटर उचाइ रहेको कोप्रे छहरा र २५० मिटर उचाइ रहेको उडाइनो झरना मुख्य सडकको १०० मिटर दक्षिणी भागमा अवस्थित छन् । झरनामा रमाउनका लागि दैनिक करिब १५० जना युवायुवती यहाँ आउने गरेका स्थानीयले बताएका छन् । उडाइनो झरनाको दायाँतर्फ करिब दुई सय मिटरको दूरीमा कोप्रे झरना रहेको छ । बांगोटिंगो (नागबेली) भएर झर्ने भएकाले यस झरनालाई कोप्रे झरना भनिएको स्थानीय खमबहादुर घर्तीले बताउनुभयो ।

उडाइनो झरना र कोप्रे झरना दुवै वडाका आकर्षक झरना बनेका र यी झरनासम्म पुग्ने पैदलमार्ग तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरेर प्रचारप्रसार गर्ने हो भने यहाँ धेरै पर्यटकहरूलाई ल्याउन सकिने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । यी झरनाहरू हिउँदमा सुक्ने र वर्षामा मात्र झर्ने गर्दछन् ।

पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ । आन्तरिक र बाहृय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करिब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एक हजार मिटर दक्षिणमा पर्दछ ।

बेनपा–३ भकिम्लीबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा भने सुक्छ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ । म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ ।

रमणीय जंगलका बीचमा रहेको झरनावरिपरि जंगली जनावर र पशुपक्षीको बासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन् । झरनामा रमाउँदा निकै रमाइलो भएको र विशुद्ध प्राकृतिक आनन्द मिलेको पर्वतको कुश्माबाट यहाँ घुम्न आउनुभएका लक्ष्मण श्रीशले बताउनुभयो ।

स्थानीयको मागलाई मध्यनजर गर्दै नगरपालिका र प्रदेश सरकारसँग यस्ता प्राकृतिक पर्यटकीयस्थलहरूको संवद्र्धनका लागि यथोचित बजेट माग गर्ने र यहाँ पूर्वाधार निर्माण गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?