✍️ प्रा.डा. अर्जुनदेव भट्ट
विषय प्रवेश
युरिक एसिड रगतमा पाइने एउटा महत्वपूर्ण पदार्थ हो । युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भए शरीरमा विभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ । युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा नियन्त्रण गर्नु अनिवार्य हुन्छ ? त्यसबारे यहाँ वर्णन हुनेछ । युरिक एसिडको रक्तस्तर बीस प्रतिशत जनसंख्यामा उच्च पाइन्छ । ती सबैको उपचार भने गर्नुपर्दैन । प्रायः जोर्नीमा असर परेका बिरामीको र केही अरू अवस्थामा मात्र उपचार आवश्यक पर्छ ।
युरिक एसिडको कुन स्तरलाई उच्चस्तर भनेर लिनुपर्दछ ?
पुरुषहरूमा र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुने गर्दछ । ३६० माइक्रोमोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटरसम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ । पुरुषमा यो स्तर ४०० माइक्रोमोल वा ६.८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ ।
उल्लेखित स्तरभन्दा बढी युरिक एसिड पाइएमा अध्ययन गरेर स्तर सामान्य राख्न के गर्नुपर्ला ? भन्नेबारे चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्दछ । युरिक एसिड घटेको स्तर १२० माइक्रोमोल वा दुई मिलिग्रामभन्दा कम मानिन्छ । यो अवस्थामा खासै उपचार गर्नुपर्ने हुन्न ।
कुन-कुन कारणले रगतमा युरिक एसिडको स्तर बढ्न सक्दछ ?
थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्न सक्छ । ती हुन्-
वंशाणुगत
उच्च रक्तचाप
मोटोपन
अनियन्त्रित खानपान
मादकपदार्थको सेवन
पिसाब बढी लगाउने औषधिको प्रयोग
कसरी युरिक एसिडको उच्च स्तर हुन सक्छ भन्ने कुरालाई अध्ययन गर्दा तीन विभिन्न कारणमा भर पर्ने देखिन्छ । ती हुन्-
पहिलो : युरिक एसिड सामान्यभन्दा बढी शरीरमा उत्पादन हुनु ।
दोस्रो : मिर्गाैलाबाट पिसाब भएर शरीरबाट निस्कनुपर्ने मात्रामा कमी हुनु र फलस्वरूप रगतमा युरिक एसिडको स्तर उच्च हुनु र तेस्रो कारण मिश्रित जसमा भोजनमा युरिक एसिड बन्ने कुराको अधिक सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु इत्यादि । त्यसैगरी भोको अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्छ । ती हुन्- उत्पादन प्रचुरमात्रामा हुनु र मिर्गाैलाले सामान्य अवस्थामा भन्दा पिसाबबाट कम निष्कासन गर्नु ।
भोको अवस्थामा मिर्गाैलाबाट ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याउँछ । रक्सी र खास गरेर बियरले शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ ।
रक्तसञ्चारमा युरिक एसिड उच्चमात्रामा भए त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?
युरिक एसिड रगतमा सधैँ हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ । यसको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मिर्गाैलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ । युरिक एसिडको रक्तस्तर न्यून राख्दा छालामा केन्द्रित भएर रहने (Tophi Formation), जोर्नी तथा अरू तन्तुहरूमा मणिहरू थिग्रेर गर्ने खराबी र पीडा तथा मिर्गौलाको फिल्टर नष्ट गर्नबाट शरीरलाई बचाउन सकिन्छ । यसको स्तर घटाउन सैद्धान्तिकरूपमा दुई प्रकारको औषधि प्रयोग गर्न सकिन्छ ।
पहिलो ः आलोपुरिनल वा फेबुक्सोसटाट हो । यसले युरिक एसिडको निर्माणमा कमी ल्याउँछ । यो मिर्गाैलाको पत्थरी भएकालाई पनि दिन मिल्छ । आलोपुरिनलले दिसा पातलो पार्ने, वाक्वाक् गराउने तथा जिउ चिलाउने वा डाबर आउनेजस्ता समस्या उत्पन्न गराउन सक्दछ ।
दोस्रोः औषधि प्रोवेनेसिड र सुलफिनपाइरोजोन हो । यसको मुख्य उद्देश्य रक्तसञ्चारबाट मिर्गाैलाको फिल्टर भएर युरिक एसिडलाई बढीमात्रामा फिल्टर गराउनु र अर्को फिल्टरको भागले सोसेर फेरि रक्तसञ्चारमा धेरैमात्रामा युरिक एसिड ल्याउन निषेध गर्नु हो ।
पिसाबबाट बढीमात्रामा युरिक एसिड निकाल्न सहयोग प¥याउने औषधिहरूको प्रयोग प्रायजसो ती बिरामीहरूमा गर्न मिल्दछ, जसको क्रेअटेनिन निखार्ने क्षमता ६० मिलिलिटर प्रतिमिनेटभन्दा कम छ । तर, ती बिरामीहरूलाई कहिल्यै पनि मिर्गाैलाको पत्थरी नभएको हुनुपर्दछ । त्यसका साथसाथै उनीहरूले प्रतिदिन ७०० मिलिग्रामभन्दा कममात्र युरिक एसिड पिसाबमा निष्कासन गर्ने गरेको हुनुपर्दछ । युरिक एसिड उपचारको मुख्य उद्देश्य रगतमा ६ मिलिग्रामभन्दा तल्लोस्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो । त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरू थिग्रिन पाउँदैनन् ।
पिसाबको अमिलोपना घटाएर पनि मिर्गाैलाबाट बढीमात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ । पिसाबलाई बढी पातलो पारेर पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ । त्यसका निम्ति झोलिलो पदार्थ तथा पानी बढी पिउनुपर्दछ । युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछामासु घटाउने, रक्सी पिउन छोड्ने र शरीरको तौल आफ्नो अग्लाइलाई मिल्दोजुल्दो राख्ने गर्नुपर्दछ । मोटोपन, रक्सीको सेवन र बढी माछामासुको भोजनबाट टाढा रहनु नै युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो ।
निचोड
युरिक एसिड रगतको महत्वपूर्ण पदार्थ हो । माछामासु, रक्सी र खास गरेर बियरले शरीरमा युरिक एसिडको मात्रा बढाउँछ । जोर्नीमा असर परेका बिरामीको र केही अरू अवस्थामा उपचार गर्नुपर्छ । (वरिष्ठ युरोलोजिस्ट भट्टको बहुउपोगी पुस्तक ‘मूत्र र जननेन्द्रिय प्रणाली रोग, निदान तथा उपचार’ हालै प्रकाशित भएको छ ।)
उपयाेगी लेख , डाक्टरसाहवलाई वधाई छ