गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो ।

जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

२०६२/६३ को जनआन्दोलन मार्फत संसद पुनः स्थापना गराउन, बृहत शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधानसभाको निर्वाचनमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्ने मुख्य कमाण्डरको भूमिका निर्वाह गरेका कोइरालाको सोही बीचमा निधन भएपछि राजीतिक नेतृत्वको अभाव खड्किएको थियो । उहाँको देहवसान भएको करिब ६ बर्षपछि मात्रै नेपालले नयाँ संविधान पाएको थियो । सुरुमा सत्ताका लागि दौडधुप गर्ने नेताको रुपमा चित्रित गरेपनि जीवनको उत्तरार्धमा कोइरालाले गरेको कामको सबै राजनीतिक दलले प्रशंशा अहिले पनि गरिरहेका छन् ।

तत्कालिन नेकपा माओवादीलाई संसदीय राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका कोइरालाको नाम अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले लिदै आउनुभएको छ । तर, पहिलो राष्ट्रपति बन्ने चाहना कोइरालाले राख्दा आफूले त्यो पूरा गर्न नसकेको प्रति प्रचण्डले सार्वजनिक रुपमा पश्चताप गर्दै आउनुभएको छ । राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिनुभएका स्वर्गीय कोइराला चार पटक मुलुकको प्रधानमन्त्री बन्नुभएको थियो ।

२०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गर्नुभएको थियो । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिनुभएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति बन्नुभयो । संसदीय राजनीतिका माहिर खेलाडी मानिने कोइराला ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न हुुनुभयो । पिता कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोराको रुपमा वि.स. १९८१ असार १८ मा भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा कोइरालाको जन्म भएको थियो । जतिबेला कोइरालाका बुबा आमा निर्वासित जीवन बिताइरहनुभएको थियो । कोइरालाले आफ्नो २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना गर्नुभएको थियो । जुन पछि नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिन थाल्यो ।

२००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बन्नु भयो भने २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म कार्यभार सम्हाल्नुभएको थियो । गिरिजाप्रसाद कोइरालाको २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी रह्यो, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गरायो । जसका कारण उहाँलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ ।

परिवार नै राजनीतिमा होमिएका कारण पनि कोइरालालाई थप मद्धत पुग्यो । कोइरालका दुई दाजुहरु वि।पी। कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री हुुनुभएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेताका रुपमा गिरिजा प्रसाद कोइरालालाई नै लिइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?