सेयरमा उच्च गिरावट

Read Time = 3 mins

काठमाडौं । पछिल्लो साता सेयर बजार उच्च अंकले घटेको छ । साताभरको कारोबारमा बजार परिसूचक ७५.६३ घटेको हो । गत साता २७ अंकले घटेर २११३ मा रहेको बजार पछिल्लो साता ७५ अंकले घटेर २०३७.९२ मा खुम्चिन पुगेको छ । पाँच दिनको कारोबारमा चार दिन घटेको सेयर बजार एक दिनमात्रै बढेको थियो ।

पहिलो दिन आइतबार परिसूचक नेप्से १०.२७ अंकको वृद्धिपछि बजार लगातार उकालो लागेको थियो भने सोमबार फेरि नेप्से १७.६७ अंकले घटेर २१०६ अंकमा झरेको थियो । मंगलबार ४३.३५ अंकले र बुधबार ५.११ अंकले घटेर नेप्से २०५७ अंकमा झरेको थियो । बिहीबार पनि १८.९६ अंकले घटेर २०३७ अंकमा झरेको थियो ।

गत साता ३० खर्ब १५ अर्ब ८९ करोडमा रहेको सेयर बजार पुँजीकरण पछिल्लो साता घटेर २९ खर्ब १० अर्ब ४२ करोडमा झरेको छ ।

सातामा कुल कारोबार ४७ प्रतिशतले घटेको छ । गत साता २२ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा यस साता १२ अर्ब दुई करोडको मात्रै कारोबार भएको छ । आइतबार दुई अर्ब ६७ करोड, सोमबार दुई अर्ब ८५ करोड र मंगलबार दुई अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा अन्य दिनमा भने कारोबारमा कमी आएको थियो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, नबिल बैंक, हिमालयन एभरेस्ट इन्स्योरेन्स तथा नागरिक लगानी कोष अन्य कम्पनीभन्दा अगाडि रहेका थिए । गत साता ३० खर्ब १५ अर्ब ८९ करोडमा रहेको सेयर बजार पुँजीकरण पछिल्लो साता घटेर २९ खर्ब १० अर्ब ४२ करोडमा झरेको छ ।

घट्दो बजारमा पनि नाफा आर्जन गर्ने कम्पनीमा गुराँस लघुवित्तको सेयर १४.५२ प्रतिशतले बढेको छ भने दोस्रो ठूलो नाफा आर्जन गर्ने उपकार लघुवित्तको १०.१५ प्रतिशत, जाल्पा लघुवित्तको ६.९६ प्रतिशत, युनिलिभर नेपालको ५.०३ प्रतिशत, एनआइसी एसिया सेलेक्ट फन्डको इकाई मूल्य ४.८४ प्रतिशतले बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?