सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागेकाे प्रतिपक्षी सांसदको आरोप

Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार बिचौलियाहरुबाट कमाउने धन्दामा लागि परेको आरोप लगाउनु भएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेताहरु चुनावका लागि चन्द संकलनमा व्यस्त रहेको, कर्मचारीहरु कमिशनमा चलेको, ठेकेदारहरु कामै नगरी कमाउने धन्दामा लागेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
सांसद सुनुवारले ढिलासुस्ती र कमजोर काम गर्ने ठेकेदारहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न पनि सरकारलाई दवाव दिनु भयो । आफूले प्रतिनिधित्व गरेको ओखलढुंगा जिल्लामा समेत विकास, निर्माणका कामहरुमा ढिलाई रहँदा पनि सरकारले कुनै चासो नदिएको उहाँको गुनासो थियो ।

सांसद सुनुवारले भन्नु भयो, ‘सरकार विचौलियाहरुबाट कमाउन व्यस्त छ । नेताहरु चुनावका लागि चन्द संकलनमा मस्त । कर्मचारीहरु कमिशनमा रमाउने, अनि ठेकेदारहरु काम नगरी कमाउने । आजको मुलुकको अवस्था, मुलुकका थिति यहाँ पुगेको छ भन्ने कुरा समाजमा उठन थालेको छ । आज जुन ढंगले हामीले गति दिनुपर्ने थियो, हामीले भनेका थियौ–सार्वजनिक खरिद ऐन यो संसदमा ल्याइयोस् । त्यसमा आमूल परिवर्तनको खाँचो छ । राम्रो काम गर्ने पुरस्कार, ढिलासुस्ती र कमजोर काम गर्नेहरुलाई कारबाही हुनु पर्दछ भनेर हामीले भनेका थियौं । तर त्यसो हुन सकिरहेको छैन । मेरो जिल्ला ओखलढुंगामा समेत थुप्रै सरकारी भवनहरु, सडक कालोपत्रे लगायतका स्तरोन्नति गर्नुपर्ने अनि विद्यालय भवनहरु, सँगसँगै स्वास्थ्यका भवनहरु अनि पुलहरु, सडकहरु निर्माणमा जुन प्रकारले ढिला भईरहेको छ । यसले नागरिकलाई त्यहाँका जनतालाई ठूलो मार परिरहेको कुरा मैले पटकपटक उठाईरहेको छु । ’

सांसद सुनुवारले पुलपुलेसाहरुको आवश्यक व्यवस्था सरकारले मिलाउन नसक्दा जनता मारमा परिरहेको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?