प्रचण्डलाई आयोगको पत्र : १० करोड खर्चेका उम्मेदवारको सूचना दिनू

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र काटेको छ । प्रचण्डले गत साउन ९ गते नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकामा जित्न १० करोड खर्च गरेको अभिव्यक्ति दिएपछि आयोगले पत्र काटेको हो ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीले प्रचण्डलाई लेखेको पत्रमा भनिएको छ, ‘आयोगबाट तोकिएको हदभन्दा बढी खर्च गर्ने तथा निजहरूले गरेको खर्च विवरण आयोगले तोकेको कार्यालयसमक्ष नबुझाउने उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरु गरिसकेको अवस्था रहेको हुँदा सञ्चार माध्यमहरूमा प्रकाशित प्रसारित भएको तपाईंको अभिव्यक्तिबमोजिम पाएको सूचनाअनुसार गाउँपालिको अध्यक्ष चुनाव जित्न १० करोड रुपैयाँसम्म खर्च गर्ने उम्मेदवारबारे सूचनाको साथै आयोगले तोकेको खर्चको हदभन्दा बढी खर्च नगर्ने उम्मेदवारबारे वस्तुगत सूचना आयोगमा उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।’

आयोगले सूचना प्राप्त गर्न उहाँको कार्यालयमा पत्र पठाएको थियो । कार्यालयले पत्र बुझ्न नमानेपछि पुनः सोही कार्यालयमा हुलाकमार्फत पठाइएको एक अधिकारीले बताउनुभयो । ती अधिकारीले भन्नुभयो, ‘कार्यालयले पत्र बुझिदिएन । पुनः कार्यालयमा पत्र पठाइएको हो ।’

गत सोमबार एक कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणालीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर्क गर्नुभएको थियो । सांसद बन्न नै करोडौँ खर्च हुने भन्दै उहाँले मन्त्री भएर त्यसको लगानी उठाउने प्रवृत्ति बढेको बताउनुभएको थियो । ‘करोडौँ खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री हुन पाउँदैनन् । सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौँ खर्च गर्नुप¥यो’ उहाँले भन्नुभएको थियो, ‘सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुप¥यो । मन्त्री भइसकेपछि लगानी उठाउनुप¥यो । भ्रष्टाचार यही प्रणालीभित्र छ ।’

यसअघि गत चैतमा कांग्रेस नेता शशांक कोइरालासँग पनि आयोगले चुनावी खर्चबारे स्पष्टीकरण सोधेको थियो । कोइरालाले ‘चुनाव लड्छु भन्नेबित्तिकै ६/सात करोड चाहिने अवस्था’ आएको बताउनुभएको थियो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताउनुभएको थियो । निर्वाचन आयोगसमक्ष भने उहाँले २१ लाख ७५ हजार खर्च भएको विवरण पेश गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?