जनप्रतिनिधिलाई कांग्रेसको अभिमुखीकरण : शासक होइन जनताको सेवक भएर काम गर्न सभापति देउवाको निर्देशन, जनप्रतिनिधिका अपेक्षा धेरै

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित देशभरका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । गत स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार र मंगलबार दुई दिन पार्टीका तर्फबाट निर्वाचित गाउँपालिका, नगरपालिकाकाका अध्यक्ष-उपाध्यक्ष, प्रमुख-उपप्रमुख र जिसस प्रमुख-उपप्रमुखको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

ललितपुरको हेरिटेज गार्डेनमा सोमबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । प्रशिक्षण स्थानीय तहमा जनप्रतिनिधिका काम कारबाहीका साथै आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिमा केन्द्रित छ ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दूरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेको बताउनुभयो । जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुःख सुखमा मलमपट्टी लगाउने गरी काम गर्न निर्देशन दिँदै सभापति देउवाले भन्नुभयो, ‘तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउन सक्नुभयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन् । जनताको सरकारप्रतिको भरोसा र विश्वास पनि बढ्छ । अतः यस कुरालाई गम्भीरतासाथ मनन गरी तपाईंहरूले काम गर्ने अपेक्षा लिएको छु ।’

स्थानीय तहले राम्रोसँग काम गरेमा गाउँगाउँमा सिंहदरबार भन्ने नारा स्थापित हुने बताउँदै सभापति देउवाले भन्नुभयो, ‘जनताले भन्न थालिसकेका छन् गाउँगाउँमा सिंहदरबार भने पनि हामीले केही पाएनौँ । त्यसकारण स्थानीय तहले राम्रो काम गर्नुपर्छ । यो सरकार आगामी चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन कटिबद्ध छ ।’

कसैलाई अन्याय नहुने गरी टिकट वितरण हुन्छ : सभापति देउवा
सभापति शेरबहादुर देउवाले आगामी मंसिर ४ मा हुने निर्वाचनमा सबैलाई न्याय हुनेगरी टिकट वितरण गरिने आश्वासन दिनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको लागि पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले न्यायसंगत ढंगबाट टिकट वितरण गरिने आश्वासन दिँदै भन्नुभयो, ‘न्यायबद्ध रूपमा टिकट वितरण हुन्छ । कसैलाई अन्याय हुँदैन ।

तपाईंहरू ढुक्क भएर चुनावमा लाग्नुहोस् । २०७४ सालमा हामी वाम गठबन्धनसँग एक्लै लडेर पराजित भएका थियौँ, अहिले हाम्रो गठबन्धन छ । कति ठाउँमा जित्छौँ भन्ने कुरा महत्वपूर्ण हो । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नुहोला । पार्टीका साथीहरूलाई भेदभाव गर्दिनँ । पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावमा जाऊँ । मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु । आगामी दिनमा पनि कसैलाई काखापाखा हुन दिन्नँ । सबैलाई मिलाएर लाने इच्छा छ ।’

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खट्न निर्देशन
पार्टी सभापति देउवाले आगामी मंसिर ४ गते तय भएको आम निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ । सत्तारूढ दलहरूबीच गठबन्धन हुने सहमति बनिसकेकोले सोहीअनुसार लागिपर्न निर्देशन दिँदै सभापति देउवाले भन्नुभयो, ‘स्थानीय निर्वाचनमा कांग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राम्रो परिणाम आउनेछ । स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगैसँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी चुनावी तयारीमा लाग्नुस् । सभापति देउवाले यसपटकको चुनाव जित्ने विश्वास रहेको तर, गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भनेर ढुक्क नहुन पनि निर्देशन दिनुभयो ।

सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँ पुगेको टिप्पणी
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अहिले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार चाहिँ गाउँगाउँ पुगेको गुनासो बढिरहेको टिप्पणी गर्नुभएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजना गरिएको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले भन्नुभयो, ‘यो अभिमुखीकरणको पहिलो एजेण्डा सुशासन हो । आज हामीले व्यवस्था बदल्यौँ तर जनताको अवस्था बदलिएन भन्ने गुनासो सुनिरहेका छौँ । आज पनि पात्रहरू बदलिए तर प्रवृत्ति बदलिएन भन्ने गुनासो आएको छ । हामीले सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने कुरा ग¥र्यौँ । तर, सिंहदरबारको अधिकार गाउँगाउँमा भन्नेमा प्रश्न उठेको छ । सिंहदरबारको भ्रष्टाचार गाउँगाउँमा पुगेका भन्ने कुराहरू आएका छन् । स्थानीय तहमा गत वर्षको बेरुजुको पहाडले पनि सुशासनको मजाक उडाएको छ । सुशासनबिना समुन्नति सम्भव छैन ।’

कांग्रेस महामन्त्री गगनकुमार थापाले अघिल्लो कार्यकालमा स्थानीय तहका प्रतिनिधिहरूसँग एउटा यस्तै तालिम वा प्रशिक्षण गर्ने अनि पाँच वर्ष भेटघाट नै नहुने भएकाले यो पटकचाहिँ केही सुधार गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै भन्नुभयो, ‘यसपटक अभिमुखीकरणका साथसाथै पार्टीभित्रैबाट संयन्त्र वा विभाग बनाएर पाँच वर्षसम्म जनप्रतिनिधिहरूलाई डर र भर दुवै हुनेगरी सँगै काम गरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको हो । जनप्रतिनिधिहरूलाई अघिल्लो पटकचाहिँ निर्वाचित भएर आएको, मैले जे निर्णय गर्दा पनि हुन्छ भन्ने भयो तर, योपटक कांग्रेसले देशैभरि जे संकल्प लिएर अघि बढेको छ, त्यो बाहिर उहाँहरू जानुभएन ।’

महामन्त्री थापाले जनप्रतिनिधिका गलत कदममा पार्टीको नियन्त्रण, नियमन चाहिने र प्रतिनिधिले गर्न खोजेका राम्रो कामका लागि नेतृत्वको भर पनि चाहिने बताउनुभयो । महामन्त्री थापाले उपलब्ध साधनस्रोतको प्राथमिकीकरण गरेर काम गर्न जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।

जनप्रतिनिधिका अपेक्षा
दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी देशभरिका जनप्रतिनिधिहरूले पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमले जनतासम्म पुगेर काम गर्न सहज हुने अपेक्षा गरेका छन् । उनीहरूले विकास निर्माणका काम, योजना, बजेट तर्जुमा लगायतका विभिन्न विषयमा पार्टीको शीर्ष तहसहितको अभिमुखीकरणले जनताको सेवक भएर काम गर्न अझ सहज हुने अपेक्षा व्यक्त गरेका हुन् । बझाङ जिल्ला जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले स्थानीय तह सञ्चालनका लागि काम गर्न थप आत्मविश्वास बढ्ने आशा व्यक्त गर्दै भन्नुभयो, ‘विषय विज्ञ र पार्टीको शीर्ष तहबाट आउने कुराले हामीलाई उत्साहित बनाउने छ । यस्ता भेला र अभिमुखीकरण कार्यक्रम आफँैमा महŒवपूर्ण हुन्छन् । यहाँ कसैले आफू सफल भएको विषय नै सुनाउनुहुन्छ भने पनि आफू सफल हुने बाटो पाइन्छ, जनतालाई कसरी सेवा प्रवाह गर्न सकिन्छ दिशानिर्देश हुन्छ । विशेष गरेर अभिमुखीकरण कार्यक्रमले तल्लो तहदेखि माथिल्लो तहसम्म जोड्ने एउटा सेतुको काम गर्ने र उद्देश्य अनुरूपका काम गर्न सहयोग पुर्‍याउने विश्वास छ ।’

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ३४ जना, उपप्रमुख २३ जना, नगरपालिकाका प्रमुख १४१ जना, उपप्रमुख ११० जना, गाउँपालिकाका अध्यक्ष १८८ जना र उपाध्यक्ष १९० जना सहभागी रहेको जनाइएको छ । जनप्रतिनिधिलाई सोमबार विषय विज्ञले प्रशिक्षण दिएका छन् भने मंगलबार महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले प्रशिक्षण दिएपछि कार्यक्रम सम्पन्न हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?