राप्ती करिडोरको उद्घाटन, नदीको दुबै किनारामा पक्की सडक निर्माण हुने

Read Time = 5 mins

-विवेक खड्का

दाङ । सरकारले दाङ स्थित राप्ती नदीको दुबै किनारमा पक्की सडक निर्माण गरेर राप्ती करिडोर निर्माण गर्ने योजना अघि सारेको छ । सहकारी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदीको दुबै किनारबाट सडक निर्माण गरेर करिडोर बनाउने गरी यसको शिलान्यास गर्नुभएको छ ।

सहकारी विकास मन्त्री चौधरीले करिडोरको शिलान्यास गर्दै छिट्टै निर्माणको काम शुरु हुने बताउनुभयो । नेपाल सरकार शहरी विकास मन्त्रालय र एशियाली विकास बैंकको संयुक्त लगानीमा करिडोर निर्माण हुने शहरी विकास मन्त्री चौधरीले जानकारी दिनुभयो । राप्ती नदीमा आउने बाढीका कारण हुने कटान, डुबानको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्ने र नदी किनार क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

‘यो परियोजनाले राप्ती नदीको समस्यालाई सधैंको लागि समाधान गर्नेछ’ उहाँले भन्नुभयो, ‘सयौं विगाह जमिन उकास हुन्छ । नदीलाई आधार मानेर नयाँ शहर निर्माण पनि अघि बढ्छ ।’ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएकाले पनि नदीको व्यवस्थापन जरुरी रहेको र त्यसमा तीन तहकै सरकारको समन्वय तथा सहकार्य रहने बताउनुभयो ।

नदीको दुबैतर्फ गरी एक सय ३५ किलोमिटर लम्बाइको २१ मिटर चौडा सडक निर्माण गरिने, जसको लागि १० अर्ब बजेट आवश्यक पर्ने शहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्ती नदीको दाङ खण्डमा नदीको एउटा किनार ६७.५ किलोमिटर र अर्काे किनार ६८.३ किलोमिटर लामो रहेको छ ।

‘नौलो सोच हो । भालुबाङदेखि बाँकेको अगैयासम्मको योजना हो’ उहाँले भन्नुभयो, ‘पर्यावरण जोगाएर काम हुन्छ । सकेसम्म कम क्षति हुने गरि चारवटा शहर बसाउने योजना छ । एउटा भालुबाङ शहर भइहाल्यो । अर्काे गढवा, राजपुर र बाँकेको अगैया हुनेछ ।’ शहरी विकास मन्त्रालयले करिडोरको डिपिआर तयार पार्ने र एशियाली विकास बैंकसँग साझेदारी गरेर करिडोरको काम शुरु हुनेछ । एडिबिका कन्ट्री डाइरेक्टरसँग भएको बैठकपछि करिडोर शिलान्यासको योजना बनेको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म दुई स्थानमा करिडोरको काम गरेको र राप्ती नदीमा बन्न थालेको करिडोर तेस्रो भएको मन्त्री चौधरीले बताउनुभयो । धोबीखोला । बागमती पछि राप्ती कोरिडोर हो ।

राप्ती तटबन्ध गर्न एडिबिको डेढ अर्ब

चालु आर्थिक वर्षमा राप्ती नदीमा तटबन्ध गर्न यस वर्ष एशियाली विकास बैंकले डेढ अर्बको लगानी गर्न थालेको छ । जनताको तटबन्ध कार्यालय मार्फत जोखिमपूर्ण ठाउँ सुरक्षित गर्न बृहत तटबन्धको कार्यक्रम रहेको जनताको तटबन्ध कार्यालयका इञ्जिनियर सूर्यदेव नायकले बताउनुभयो । ‘करिब १३ किलोमिटर क्षेत्रमा तटबन्धको कार्यक्रम छ । योजनाको ठेक्का काठमाडौंबाट भएको छ । अब केही दिनमा टुंगिन्छ’, उहाँले भन्नुभयो, ‘जनताको तटबन्ध कार्यालयले काम अघि बढाउँछ ।’ विगतमा पनि जनताको तटबन्ध कार्यालयले नदी तटबन्धको योजना अघि बढाएको थियो । बजेट अभावका कारण २०७४ सालमा ठेक्का गरिएको स्थानको काम अझै सकिएको छैन । बजेट अभाव झेलेको तटबन्धको कामलाई अघि बढाउन दातृ निकायको खोजी गरिएको हो । बाँकेको अधिकांश क्षेत्रमा भारतले तटबन्ध गर्ने र दाङ खण्डमा एडीबीको सहयोगमा काम अघि बढ्ने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?