प्रचण्डको प्रतिक्रिया : चुनावपछि पार्टी एकतानै हुने गरी संयोजन समिति बनाउने तयारी भईरहेको छ

Read Time = 4 mins
A A- A+

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भईरहेको बताउनु भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनु भएको हो ।

चुनावपछि पार्टी एकतानै हुने गरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाई थियो । उहाँले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताउनु भयो ।

अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताउनु भयो । बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उहाँले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दावी गर्नु भयो ।

अध्यक्ष दाहालले भन्नु भयो, ‘अहिले बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ । हामी उभियौं अव । अव कसैले रोकेर रोकिदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु । यद्यपि आजै पार्टी एकता भएको होइन । चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौं । अहिले चुनाव चिन्ह, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं । यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म । र, अर्काे कुरा यतिमात्रै हाम्रो लक्ष्य होइन । हामी अरुपनि बामपन्थीहरुसँग जस्तो माधव नेपालजीहरुसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ । चुनाव अघि त केही पनि हुँदैन । चुनावपछि नाममा चाँही नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ । नेकपा राख्ने भन्नेमा भने सहमति भईसक्यो ।’

अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?