नेपालमा बेला-बेलामा केही आन्दोलन भनौं वा विरोध भनौं भइरहने गरेका छन् । ‘क्रान्ति’ भन्ने शब्दले चाहिँ त्यसभन्दा पनि बढी गरिमा ओगटेको हुन्छ । यस्ता एकाएक हुने विरोध प्रदर्शनहरू क्रान्ति हुन सक्दैनन् । क्रान्तिमा बृहत्तम् उद्देश्य नीहित हुन्छ । हालै एकाएक उठेको प्रदर्शनको तरंग भने समुद्रमा उठेको ज्वारजस्तो हो, ज्वार जसरी उठ्छ त्यसरी नै फर्किने गर्छ । त्यसको फर्किने कार्यलाई भाटा भन्ने गरिन्छ । किनारातर्फ आउने र फर्कने सामुद्रिक कार्यलाई एकसाथ ज्वारभाटा भन्ने गरिन्छ । ज्वारभाटाले पनि केही मार, प्रहार र बिगार गर्छ । हालको आन्दोलन पनि त्यस्तै औचित्यविनाको प्रदर्शनी मात्र हो ।
यस आन्दोलनको औचित्य पुष्टि हुनसकेको छैन । न त त्यसको एक प्रकारले भन्ने हो भने आवश्यकता नै छ । यसो भन्दैमा हामीले वर्तमान सरकार र सत्तारुढ दलहरूको अन्ध समर्थन गरेको पनि होइन । सरकार र दलहरूको कमजोरीलाई हामी निरन्तर विरोध गरिरहेकै छौं । आगामी दिनमा पनि त्यस्ता कार्यको विरोध गरिरहने छौं । राम्रा कामको समर्थन र नराम्राको विरोधमा सधैं लागिरहनेछौं । कसैको विरोधका लागि विरोध हामीबाट हुनेछैन । सल्लाहा, सुझाब, निगरानीमा रहनेछौं । यसैलाई रचनात्मक सुझाब भन्ने गरिन्छ, जुन हामीबाट सधैं सरकराले पाइरहनेछ ।
हो, जनतामा हालका दिनमा निराशा र चिन्ता उत्पन्न भइरहेको छ । एक–दुईमात्र होइन अनेकौं प्रकारका समस्या जनतामा छन् । जनतामात्र होइन सरकार वा राष्ट्र नै अप्ठ्यारो अवस्थामा छ । आर्थिक मन्दी सबैभन्दा विकराल बनेर आएको छ, कसरी सामना गर्ने चिन्ता देश र जनतामा छ । सरकारप्रति सहानुभूति दर्शाइएको होइन तर यस्तो अवस्थामा पनि सरकारका नराम्रा कामको विरोध भने गर्नु सबैको दायित्व हुनआउँछ । हाल एकाएक सतहमा आएको आन्दोलन भनिएको सरकारको विरोध प्रदर्शन विनातयारी, विनालक्ष, विनाऔचित्य उठ्न पुगेको छ । एकातिर नेतृत्व सबल छैन भने अर्कातिर स्पष्ट नीति पनि देखिएको छैन ।
एकाएक सतहमा आएको प्रदर्शनीमा केही हजार मानिस संलग्न भए तर ती सबैमा आन्दोलनप्रतिको प्रतिबद्धता देखिएको छैन । अर्कोतर्फ सरकारले ठूलो राज्यशक्ति यस प्रदर्शनका विरुद्धमा प्रयोग ग¥यो । यसलाई कर्कलालाई बञ्चरो प्रहार गरेको शैलीमा जनताले बुझेका छन् । एउटा अराजक, स्पष्ट नीति र नेतृत्व क्षमता नभएको मानिसको पछि लाग्ने भीड सधैं त्यत्ति नै संख्यामा रहिरहन्छ भन्ने छैन, त्यो दिनप्रतिदिन घटेर जान्छ । सरकारको जति नै कमजोरी भए पनि यो प्रणाली जनताको ठूलो बलिदानीबाट आएको हो । यति छिटै यसको विकल्प खोजिनुपर्छ भन्ने हाम्रो मान्यता रहँदैन ।
नेता र नेतृत्वको विकल्प खोज्न सकिन्छ । त्यतातिर सोच्ने हो भने त्यो फरक प्रसंग हुनसक्छ, त्यो पनि विधिसम्मत ढंगले खोज्न सकिन्छ । निर्वाचनबाट यस्तो सोच तयार गर्नु आवश्यक छ । ढुंगा हानेर सरकार, व्यक्ति वा राज्यप्रणाली फेर्नु अराजकता र उद्दण्डता हो । त्यो कतैबाट हुनुहुँदैन । सरकारले एकजना सामान्य मानिसलाई बढी महत्व दिएर एकाएक शिखर चढाउने काम गर्यो । स्वाभाविक देखिँदैन र सामान्य मानिसबाट पनि प्रदर्शनको पछाडि कतैबाट त्यसको समर्थन छ वा प्रदर्शन प्रायोजित हो कि भन्ने अड्कलबाजी भइरहेका छन् ।
दुर्गा प्रसाई नामका व्यक्तिलाई होम एरेस्ट गर्नु भनेको उहाँलाई पहिलो तथा दोस्रो जनआन्दोलनका शिखर व्यक्तित्वहरूको दाँजोमा लैजाने प्रयास हो, जसमा सरकार आफैंले त्यसलाई सहयोग पुर्याएको छ । प्रदर्शनकारीहरूले हिन्दुधर्म र संवैधानिक राजतन्त्रको जुन नारा दिएका छन् यसमा नेपालीहरूको चासो छ । चासो हुनुपर्ने कारण छन् । नेपालको ओमकार परिवारको संख्या हेर्ने हो भने निकै ठूलो छ तर त्यसैलाई बेवास्ता गरिएको छ । धर्मनिरपेक्षता लादिएको एजेण्डा हो, नेपालीहरू यसमा सन्तुष्ट छैनन् । त्यसमा महलपट्टीको अपेक्षा अझै बाँँकी छ ।
उता झापामा राजाको समर्थनमा उत्रिएका मानिसहरूको भिड यदि त्यो प्रायोजित होइन भने त्यो कम आँक्न मिल्ने खालको छैन । जहाँसम्म राजाको मौनताको कुरा छ त्यो निकै सोचीबुझिकन राजा तत्काल कुनै प्रतिक्रियामा नउत्रिनु भएको हुनसक्छ । यी सबै परिदृश्लाई हेरेर सरकार धेरै आक्रोशित भएको सुहाएको छैन र सरकार केही नगरी बस्नु पनि हुँदैन । राष्ट्रिय झण्डा बोक्ने, दौरा सुरुवाल र टोपी लगाएका मानिसमाथि सरकारका प्रहरीबाट भएको ज्यादतीले भने सरकार राष्ट्रियताविरोधी प्रमाणित देखिन पुगेको छ । सरकारले दौरा-सुरुवाल र ढाका टोपीमा राष्ट्रियता देखेन कि मनभित्रको..... ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच