हाल देशको अर्थतन्त्र डामाडोल भइसकेको छ । यसको लक्षण बजारमा जताततै देखिने गरेका छन् । महँगी चुलिँदै गएको छ । नागरिकहरूले उपभोग गर्ने दैनिक संशाधन र खाद्य पदार्थहरूमा भारी मात्रामा कटौती गर्नुपर्ने भएको छ । भरखर ठूला चाडहरूले बिदा लिएका छन् । ती चाड केन्द्रित सामग्री बजारमा जे जति आएका थिए तिनको बिक्री सधैंको भन्दा कम भयो । हाम्रो क्रयशक्ति कमजोर बन्दै गएकोतर्फ संकेत गरेको छ । बजारमा पसलहरू बन्द हुँदै गएका छन् । सटर कबलहरू भाडा लाग्न नसकेर दिनप्रतिदिन बन्द हुँदै गइरहेका छन् । यस्तो परिस्थिति शासनसत्तामा बस्नेहरूलाई महसुस भएकै हुनुपर्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्रमा सुधार गर्न कसरी सकिन्छ भन्ने विषयमा विज्ञहरूसँगको छलफल अगाडि बढाउनु भएको छ ।
यसलाई सकारात्मक ढंगले हेर्नुपर्ने हुन्छ । कम्तीमा सरकारले चासो राखेको छ भन्ने सान्त्वना जनतालाई यस्ता कार्यक्रमले दिन सक्छ । हाल विश्वमै मन्दी आएको छ भनेरमात्र हुँदैन । विश्वका कतिपय मुलुक अहिले पनि सबल अर्थतन्त्र कायम गरेर ढुक्कले बसिरहेका छन् । श्रीलंकाको अर्थतन्त्र कमजोर हुनुमा विश्वको अर्थतन्त्रमा आएको मन्दीमात्र कारण होइन । अत्यधिक ऋणको भारले श्रीलंकाको अर्थतन्त्र कमजोर भएको हो । हस्तकलाका सामान बेचेका भरमा नेपालको अर्थतन्त्र धानिँदैन । नेपाल हस्तकलामा विश्वमै अग्रणी छ तर हस्तकलाका सामग्रीको बिक्री पनि व्यक्तिको पर्जेजिङ पावर (क्रयशक्ति) सबल भएका खण्डमा मात्र बढ्ने हो । किन भने, यस्ता सामग्री मानिसका अति आवश्यक सामग्रीमा पर्दैनन्, यी त शोखका लागि किनिने मात्र हुन् ।
हालका दिनमा नेपालको सबैभन्दा बलियो आयस्रोत भनेको वैदेशिक रोजगार हो तर यो सबैतिरबाट आलोचना भइरहेको पक्ष हो । युवावर्ग विदेशिएपछि देशमा वृद्धवृद्धा र बालबालिकामात्र बाँकी छन् । तीबाट खेती किसानी र पशुपालनको काम हुन सक्दैन । नेपालका अधिकांश जग्गाजमिन बाँझै छन् । तराईका आवादी खेतहरूमा सिसौ लगाइएको छ कि गौचरनका रूपमा बाँझै छोडिएको छ । यसैगरी पहाडका आवादी जग्गाजमिनमा उत्तिस लगाइएको छ । कतै त केही पनि नलगाएका कारण सिरु र सिस्नो उम्रिरहेको छ । आफूले कुनै उब्जाउ नगरी परमुखापेक्षी बन्नाले नेपाल वास्तविक रूपमा पराधीन बन्दै गएको छ ।
यस्तो परिस्थिति रहिरहने हो भने त केही वर्षमा अझै भयाबह अवस्था आउन सक्नेछ । देशमा शिक्षाको राम्रो अवस्था नभएकाले ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अध्ययन र अवसरको खोजीमा विदेशिइरहेका छन् । उनीहरूले यसरी विदेशका विश्वविद्यालयहरूमा अध्ययन गर्न जाँदा एकजनाले पच्चीस तीस लाख रुपैयाँ ती विश्वविद्यालयहरूलाई बुझाउनुपर्छ । वर्षमा खर्बाैं नेपाली रुपैयाँ विद्यार्थीहरूको पढाइकै लागि खर्च हुँदै आएको छ । यहाँ पढाइको राम्रो अवसर भइदिएको भए विद्यार्थी पढ्नका लागि विदेश जानु पर्दैनथ्यो र उनीहरूले गर्ने खर्च जोगिने थियो । तर, नेपालको पढाइ व्यापारिक र गुणस्तरहीन भएकाले यो बाध्यता भोग्नुपरेको हो । त्यसरी त्यहाँ पढ्न गएका विद्यार्थीले केही वर्षपछि कमाउन थाल्छन् तर अधिकांश ती विद्यार्थी नेपाल फर्कन चाहँदैनन्, त्यतै पलायन हुन्छन् । उनीहरूको कमाइ त्यही देशका लागि उपयोग हुन्छ ।
नेपालको राजनीतिक, शैक्षिक तथा अन्य कारणले गर्दा उनीहरू पलायन हुन बाध्य बन्छन् । नेपालले आय–आर्जन गर्न सक्ने सम्भाव्यता बोकेको प्रमुख क्षेत्र पर्यटन व्यवसाय पनि हो तर यसको पनि भरपूर उपयोग हुन सकेको छैन । सन् २०२० लाई नेपाल भ्रमण वर्ष भनेर बीस लाख पर्यटक भित्र्याउने लक्षका साथ धुमधामसँग तयारी गरिएको थियो तर त्यही बेला कोबिड-१९ को महामारी विश्वव्यापी बन्नपुग्यो । यसपछि पर्यटन व्यवसाय थला परेको पर्यै छ पूर्णरूपमा तंग्रिन सकिरहेको छैन । पर्यटन व्यवसायलाई राम्ररी सञ्चालन र विकास गर्नसक्ने हो भने नेपाललले अन्य कुनै व्यवसायतर्फ ध्यान नदिए पनि आर्थिक समृद्धि हासिल गर्न सक्छ । हाम्रा हिमाल, पहाड, गुफा, गल्छी, वनस्पति, प्राणी, चराचुरुंगी, तालतलैया, झर्ना, जडिबुटीलगायत समृद्धिको स्रोत बन्न सक्छन् ।
नेपलको जलस्रोतको विकास गर्न र त्यसबाट पर्याप्त मात्रामा बिजुली निकाल्न सक्ने हो भने आयआर्जनको एउटा प्रमुख स्रोत बन्न सक्छ । हालैमात्र नेपालले बिजुली निकासी गरी राम्रो आम्दानी गर्न सकेको सन्दर्भ यसको एउटा दृष्टान्त बन्न पुगेको छ । सरकारमा बस्नेहरूले यस्ता सम्भाव्यता खोज्नुपर्छ र देशलाई समृद्ध बनाउनेतर्फ ध्यान दिनुपर्छ । विश्वका केही देशका शासकले आफ्नो देशलाई समृद्ध बनाउन सकेका अनेकौं उदाहरण छन् । यसतर्फ ध्यान दिनु राजनीति गर्ने र सरकार चलाउनेहरूको कर्तव्य हो । खालि व्यक्तिगत र दलगत छुद्र र स्वार्थपूर्ण सोचाइलेमात्र देशको अर्थतन्त्र सबल बन्न सक्दैन भन्ने सोच्नु सबैको दायित्व हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच