पुलको रेलिङ मर्मतमा बेवास्ता

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीमा पूर्व-पश्चिम राजमार्गको फूलजोर पुलमा रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको छ । लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएको डेढ वर्ष बितिसक्दा समेत मर्मत, सम्भारको काम हुन सकेको छैन् ।

२०७८ साल चैत १३ गते उक्त पुलबाट ना ४ ख ८५५५ नम्वरको बस पुलको रेलिङ नै भत्काएर खोलामा खस्दा चार जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त दुर्घटनापछि पुलको रेलिङ मर्मत नहुँदा जोखिम रहेको स्थानीयले बताएका छन् ।

पुलको उत्तरतर्फ दुईवटा स्पानको पुरै रेलिङ भत्किएको छ । पुलमा रेलिङ नहुँदा पैदलयात्रु जोखिममा परेका छन् । मुख्य राजमार्गमै पुलको रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मतमा बेवास्ता गरिएको फूलजोर चोकका स्थानीय मेनप्रसाद गौतमले जानकारी दिनुभयो ।

बस खस्दा भत्किएको पुलको रेलिङको केही भाग अहिले पनि पुलमै झुण्डिएर रहेको छ । ‘धराप’ अवस्थामा रहेको पुलको रेलिङ तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सडक डिभिजन चन्द्रनिगापुरले फुलजोर खोला पुलको रेलिङ तत्काल मर्मत गर्ने तयारी भइरहेको जनाएको छ ।

राजमार्गको सर्लाहीखण्ड अर्थात् बागमती पुलदेखि बाँके पुलसम्मको खण्ड हेर्ने सुपरभाइजर पुण्यप्रसाद खतिवडाले केही दिनभित्रै पुलमा नयाँ रेलिङ हालिने बताउनुभयो । उहाँले अन्य स्थानको पुलमा रेलिङ हाल्ने काम भइसकेको र अब बाँकी रहेको फूलजोर खोलामा पनि केही दिनभित्रै रेलिङ हालिने दावी गर्नुभयो । खतिवडाका अनुसार अहिले राजमार्गको विभिन्न स्थानमा खाल्डाखुल्डी पुर्ने काम चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?