विदेशी कामदारको श्रम स्वीकृति अब अनलाइनबाटै

हिमालय टाइम्स
Read Time = 4 mins

रमेश भारती/हिटा
काठमाडौं । सरकारले रोजगारीका लागि नेपाल आउने विदेशी कामदारको पनि अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत जारी गर्न थालेको छ । शुक्रबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक कार्यक्रमबीच ‘एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली’ (लेमिस) शुभारम्भ गरेको हो । लेमिसको शुभारम्भसँगै विभागबाट हुने सम्पूर्ण सेवा प्रवाहका कार्य अबदेखि अनलाइनमार्फत् हुनेछ । एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली (आइएलएमआइएस)अन्तर्गत सेवाग्राहीले ‘आइएलएमआइएस डट डिओएलओएस डट जिओभी डट एनपी’मा गएर आवेदन दिन सक्ने विभागले जनाएको छ । विदेशीलाई श्रम स्वीकृति/इजाजत प्रदान/इजाजत खारेजीसमेत अनलाइनबाटै हुने विभागका प्रवक्ता तथा निर्देशक मणिनाथ गोपले जानकारी दिनुभयो ।

व्यवसायजन्य दुर्घटनाको विवरण दर्ता, प्रतिष्ठानहरू सूचीकृत हुने जस्ता कार्य पनि विभाग र अन्तर्गतका कार्यालयबाट अनलाइनमार्फत् नै हुनेछ । विभाग र अन्तर्गत रहेका ११ वटै कार्यालयबाट श्रम अडिटका लागि पनि अनलाइनमार्फत् नै पेश गर्नुपर्ने उहाँले बताउनुभयो । वार्षिक पाँच हजार पाँच सयभन्दा बढी सेवाग्राहीले सेवा लिने गरेका छन् । विदेशी नागरिकमाथि निगरानी बढाउनसमेत अनलाइन प्रणालीमार्फत् सहज हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताउनुभयो ।

स्वदेशको श्रम क्षेत्रमा देखिएका विद्यमान समस्या र त्यसको समाधानका लागि अनलाइन प्रणाली निकै प्रभावकारी हुने उहाँको भनाइ थियो । श्रमिकले पारिश्रमिक नपाउने तथा कम पाउने समस्या देखिएकाले अनलाइनमार्फत् नै उजुरी गरेको खण्डमा तत्काल कारबाही गर्न सजिलो हुने मन्त्री भण्डारीले बताउनुभयो । मन्त्रालयअन्तर्गतका विभिन्न विभाग तथा कार्यालयहरू यसअघि नै अनलाइन प्रणालीमा गइसकेका छन् ।

त्यसैगरी न्यूनतम पारिश्रमिकसम्बन्धी निवेदन दर्ता, व्यक्तिगत मागदाबी दर्ता, सामूहिक मागदाबी दर्तालगायतका कार्यसमेत अनलाइनबाटै हुनेछन् भने श्रम विवादसम्बन्धी निवेदनसमेत अनलाइनमार्फत् नै दर्ता गर्न सकिनेछ । ट्रेड युनियन दर्ता/नवीकरण, श्रमिक आपूर्तिकर्ताको दर्ता/नवीकरण, व्यवसायजन्य दुर्घटना विवरण दर्ता, श्रम अडिट पेश, प्रतिष्ठान दर्तालगायत विभागबाट भइरहेका काम पनि अनलाइनबाट हुनेछ ।

बेलायत, चीन, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसिया, उत्तर कोरिया र भुटानबाट पनि रोजगारीका लागि विदेशी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा रोजगारीका लागि नेपालमा दुई हजार नौ सय ९४ जना विदेशी कामदार श्रम स्वीकृति लिएर भित्रिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा दुई हजार एक सय ८१ जना आएका थिए । हाल नेपालमा ८९ देशबाट रोजगारीका लागि विदेशी कामदार आउने गरेको विभागको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?