यतिखेर नेपाली राजनीतिको आकाशमा दुईजना नायकहरूको अकस्मात् र नाटकीय प्रवेश भएको छ । ती दुवै पात्रलाई फरक कोणबाट जुरुक्क उठाउने प्रयास कसरी र किन भएको हो बुझिनसक्नुको छ । व्यवसायी दुर्गा प्रसाईको व्यावसायिक समस्याको कारक सरकारी नीति नै हो । यसमा विवाद गरिरहनु पर्दैन । अस्पताल खोल्न स्वीकृति दिने तर अध्ययन–अध्यापनका रोक लगाउने अनि ऋणको महासमुद्रमा एकजना नागरिक कि मर कि केही गर अर्थात् आत्महत्या गर्ने कि राज्यको नीतिविरुद्ध संगठित भएर उभिनेबाहेक उनीसँग कुनै विकल्प नरहेको अवस्थामा उनले व्यावसायिक मुद्दा उठाउनु स्वाभाविक हो । त्यसमा आफूजस्तै ऋणभारले थिचिएका र व्यवसायमा असफलहरूको ठूलो पंक्तिलाई गोलबद्ध गर्नु अस्वाभाविक होइन । तर, व्यावसायिक समस्याको जमिनमा उभिएर नेपालको वर्तमान परिवर्तनविरुद्ध जुनरूपको खेल उनी खेलिरहेका छन् त्यसले अनेक प्रश्न खडा भएका छन् ।
के प्रसाई एकल व्यक्तिमात्रै हुन् ? उनका पछाडि अरू कुनै तागत छैन ? कुनै संगठन नभएको एकजना व्यक्तिको सामथ्र्यले मात्रै राजधानीमा त्यति ठूलो संख्यामा जनता उर्लिनु सम्भव छ ? अनि एकजना व्यक्तिका विरुद्ध सिंगो राज्य संयन्त्र लाग्नुको अर्थ के लाग्छ ? त्योभन्दा अहम् प्रश्न हो प्रमुख प्रतिपक्ष नेकपा एमालेको युवाशक्ति एकजना व्यक्तिविरुद्ध प्रतिरोधमा सडकमा उत्रिनुको अर्थ के होला ? पहिले ०४६ सालअघि राज्यले कानुनी प्रक्रिया आफ्नै तरिकाले गर्ने अनि तथाकथित मण्डले जमात सडकमा उभिएर विपक्षीको प्रतिकार गर्ने प्रचलन थियो । यो पटक त्यस्तै देखियो ।
सडकमा देखिएको केही दृश्य कुनै नेपालीका लागि पाच्य हुँदैनन् । प्रसार्इंको अभिव्यक्तिको भाषा अत्यन्त निकृष्ट लाग्छ । उनी कतिपय तर्कहीन आरोपहरूको भकारी पोखिरहेका हुन्छन् । निर्दलीय पञ्चायतका समयमा उत्तेजक केही गैरजिम्मेदारहरूले लगाएको अमूक चोर देश छोड जस्ता नारा सडकमा दोहोरिरहेका छन् । खुकुरीले छप्काउने भाषा त पुरानो भएको छैन । त्यस्ता अनर्गल भाषा र शैलीविरुद्ध सरकारले तत्काल कानुनी उपचार गर्नुपर्छ । तर, सडकमा नेपाली राष्ट्रिय झण्डा बोकेर हिँडेको, दौरासुरुवाल लगाएर बाटो हिँड्दै गरेको वृद्ध, टुप्पी पालेको र टोपी लागाएको युवा देख्नासाथ बाघले बाख्राको पठेग्रोलाई झम्टेझै प्रहरीद्वारा सडकमा पक्राउ गर्ने काम कुनै पनि सभ्य नागरिकका लागि पाच्य हुनसक्दैन । कुनै वृद्ध व्यक्ति जुलुसमा नै गएको रहेछ तर शान्तिपूर्ण रूपमा हिँडिरहेको छ भने किन पक्राउ गर्नु ? त्यसमा पनि आफू कुनै भेलामा सहभागी नभएको स्पष्टीकरण दिएको अवस्थामा आपूm घुम्दै आएको भन्छ भने जबरजस्ती उसलाई पक्राउ गर्नु अनुचित र अमानवीय हो । के यो सत्ता राष्ट्रिय झण्डा, टोपी, टुप्पी र दौरासुरुवालविरोधी हो ? प्रश्न गर्नुपर्ने भएको छ ।
यतिखेर गम्भीर प्रश्न योसँगै उठेको छ ः मुलुकको रक्षा र संविधानको प्रतिरक्षा । यसमा कुनै विवाद हुँदैन । मुलुकको रक्षा र संविधानको प्रतिरक्षाको विषयमा कुनै किन्तुपरन्तु लाग्न सक्दैन । यो गम्भीर स्थितिबारे स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयसमयमा ध्यानाकर्षण गराइरहनु भएको छ । तर, यो अवस्था कसले ल्याउँदैछ ? को हो वा को-को हुन् यसका जिम्मेदार कोही पनि सही रूपमा व्यक्त गरिरहेको छैन । नीति-निर्माण र संविधान कार्यान्वयनको जिम्मेदारीमा बसेका सत्ता पक्ष, प्रतिपक्ष र पक्षविपक्षका बीचमा बसेर तर मार्नेहरू सबै एकस्वरले एकले अर्कामाथि दोष लगाइरहेका छन् । प्रतिगमनको चिन्ता हो भने सुशान दिनुपर्यो, हरेक क्षेत्रमा विकसित दलीय वर्चस्व र हस्तक्षेप अन्त्य गर्नुपर्यो, योग्यम् योग्यायको सिद्धान्त लागू गर्नुपर्यो, आफन्तवादको अन्त्य गर्नुपर्यो, भ्रष्टहरूका विधि र व्यवहारको अन्त्य गर्न ठोस कदम चाल्नुपर्यो, अनुसन्धान गर्ने निकायमाथि सत्ता र शक्तिको दुष्प्रभाव अन्त्य गर्नुपर्यो, जनताको न्यूनतम् समस्याहरूको सम्बोधन गर्नुपर्यो अनिमात्रै प्रतिगमनको टाउको जमिनमुनि पुग्नसक्छ । आफैं प्रतिगमनको आधार खडा गर्ने, आफैं वर्तमान संघीय लोकतान्त्रिक प्रणालीविरुद्ध आधार तयार पार्ने अनि यो कमजोर हुनलाग्यो भनेर जनता सामु चिन्ता गर्ने दोहोरो चरित्र प्रदर्शन स्वीकार्य हुँदैन । हिजोका दिनमा निर्दलीय सत्ताले प्रेस र अभिव्यक्ति स्पतन्त्रतामाथि खुडा प्रहार गरेको थियो । त्यो सामन्ती चरित्र र निरंकुश व्यवहार हो । आज पुनः त्यही व्यवहार दोहोरिन लागेको छ । अर्थात् सरकारी निर्णयले नै प्रतिगमनको पक्षपोषण गरेको स्पष्ट छ ।
मुलुक र संविधानका नाममा संविधानविरुद्ध सरकारी निर्णय किन आइरहेका छन् ? अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले पूर्ण प्रत्याभूत गरेको छ । अखण्ड मौलिक हकको सम्मान संविधानमा गरिएको छ । तर, केही दिन पहिले सामाजिक सञ्जाल टिकटक बन्द गरियो । अनुगमन गर्न र नियमित गर्न असफल भएपछि सरकार नरहे बाँस नबजे बाँसुरीको गलत चिन्तनतर्फ उन्मुख भयो । घरजग्गा बाझै राखेर मानिसहरूको ताँती विदेशतिर छ । बैंकहरू लगानी नउठेर जुनरूपमा पीडित छन् ऋणीहरू तिर्न नसकेर पीडा अनुभव गर्दैछन् । दुर्गा प्रसाई नामको एउटा कुनै व्यक्ति यिनै समस्यालाई भ¥याङ बनाएर अराजकशैलीमा प्रस्तुत भएकोमा सरकार प्रतिपक्ष उनका लागि बलियो भर्याङ निर्माण गरिरहेका छन् । अराजक मानिस केही छिन् सडकमा उफ्रिन्छ र आफैँ थाक्छ । हतियार नउठाएसम्म, अरूको अधिकारमाथि हस्तक्षेप नगरेसम्म, शब्दले जति उद्दण्डता देखाए पनि पक्राउ, निषेध, प्रतिकार जस्ता व्यवहारले उसैको मुद्दालाई मद्दत गरिरहेका छन् । यसैकारण प्रश्न गर्नुभएको छ : को हुन् यी प्रसाईं ? यिनका पछाडि को-को छन् ? र, यस्ता व्यक्तिलाई सत्ता र प्रतिपक्षले पृथककोणबाट किन नायक बनाउने काम गरिरहेका छन् ? यस प्रश्नको उत्तर मननीय हुनसक्छ ।