चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढे

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडाैं । आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनका लागि शुरु गरिएको चन्द्रागिरी-चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । चन्द्रागिरीमा प्याराग्लाइडिङको व्यवसायिक उडान शुरु भएसँगै पर्यटकहरु पनि शाहसिक पर्यटनमा आकर्षित भएका हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान शुरू हुन्छ ।

चन्द्रागिरी-२३ सय मिटरबाट शुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अप्रतिम दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण हुने बताउनुहुन्छ प्रशिक्षक पाइलट सुनुवार । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको एरियल भ्युका साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिन्छ ।

रसुवा र धादिङका भू-भाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृंखलाले पर्यटकहरुलाई मोहित पार्छ । उहाँले उडान अवधि १५ देखि २० मिनेट भनेपनि २० देखि २५ मिनेटसम्म आकाशमा चराझैँ उडेर रमाइलो गर्न सकिने बताउनु भयो । यो काठमाडौं शहरबाट छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । उडानमा चुनौति भन्दा बढी रमाइलो रहेको बताउनु भयो । उडान गर्नेहरुका लागि पिकअपको लागि सोह्रखुट्टे र कलंकीमा पुग्नुपर्नेछ । समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा लिन सकिने उहाँको भनाइ छ ।

एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र यो रुटमा कुनै उडान नहुने भएकाले पनि सुरक्षित स्थान रहेको बताउनु भयो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएकोमा खुशी लागेको बताउनु भयो । उडानका लागि अहिले ६ जना पाइलट रहेको र आवश्यकताअनुसार बढाउँदै लैजाने पनि बताउनु भयो । शुरुवाती एक महिनाको लागि फोटो भिडियोसहित नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार रुपैयाँ लाग्ने बताउनु भयो ।

त्यस्तै, फोटो भिडियोसहित विदेशी नागरिकलाई पनि हाललाई १२ हजार तोकेको बताउनु भयो । मौसमले साथ दिएसम्म ३० देखि ४० जनाले दिनमा प्याराग्लाइडिङ गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी रहेको छ ।

उहाँले भन्नुभयो, ‘उड्ने स्थान समुन्द्री सतहबाट २३ सय मिटर अग्लो छ । ल्याण्डिङ हुने ठाउँ समुन्द्री सतहबाट १७ सय मिटर रहेको छ । ल्याण्डिङ चित्लाङमा हुन्छ भने चन्द्रागिरी डाँडाबाट उड्दैछौँ । उडान अवधि १५ देखि २० मिनेट भनेपनि कति रमाइलो लाग्छ, २० देखि २५ मिनेटसम्म उड्नेछौँ । यो नेपालको काठमाडौं शहरबाट एकदमै छोटो दूरीको प्याराग्लाइडिङ स्थल हो । स्वागत छ । आकाशमा उड्ने शाहसिक पर्यटनमा स्वागत छ । यो उडानमा चुनौति छैन । रमाइलो मात्रै छ । टेक्निकल हिसावले सही सुरक्षित उडान क्षेत्र हुनुपर्छ । त्यो मिल्नुपर्छ अरु सबै रमाइलो छ । आकाशमा चरा जस्तै उड्ने रहर छ भने काठमाडौंको सोह्रखुट्टे र कलंकी चोक चित्लाङ बसपार्कबाट पिकअप दिन्छौँ । यहाँ ल्याएर समय र मौसमअनुकुल प्याराग्लाइडिङको मज्जा दिनेछौँ । हामी एयरपोर्टबाट एकदमै सुरक्षित ठाउँ र हामी जहाज उड्ने बाटोमा जान मिल्दैन, जानु हुँदैन । दुई वटा पहाडको खोचबाट मात्रै हो । नेपाल सरकार नागरिक उड्डयन प्राधिकरणबाट पनि यो ठाउँ सेफ्टी रहेको भनेपपिछ मात्रै हामीले उहाँहरुको सिफारिसमा उडान अनुमति र लाइसेन्स पाएको हो । ६ वर्षदेखिको दौडधुपले काम सफल भएको छ । अहिले हामीले पिकअपको लागि एउटा भेकल र ६ जना पाइलट छन् आवश्यक अनुसार बढाउँदै जानेछौँ । एक महिनाको लागि नेपालीलाई अहिले आफ्नै भेकलबाट आउनेलाई ७ हजार २ सय र हाम्रैमाआउनेलाई ८ हजार गरेका छौँ । विदेशीको लागि हाललाई १२ हजार तोकेका छौँ । यसमा फोटो भिडियोसहित हो । मौसमले साथ दिएसम्म ३० देखि ४० जना ग्राहक सहजै उडाउनेछौँ । अहिलेसम्मको लगानी डेढ करोड भन्दा बढी छ ।’

यता प्याराग्लाइडिङ गर्न पुगेका सर्वसाधारण नागरिकहरु भने चित्लाङ पर्यटकका लागि उचित स्थल भएकाले प्याराग्लाइडिङले थप पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउँछन् । सर्वसाधारण मदन खड्काले चन्द्रागिरीबाट चित्लाङ प्याराग्लाइडिङ गर्दा पर्यटनका साथै रमाइलो अनुभव गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साथीहरुसँग रमाइलो लाग्छ । चित्लाङ पर्यटकका लागि राम्रो छ । त्यसअनुसार अहिले यसरी सहजै चन्द्रागिरीबाट चित्लाङ जान राम्रो हुन्छ ।’

त्यस्तै प्याराग्लाइडिङ गर्न चन्द्रगिरी पुग्नुभएका नेपाल प्रहरीकास हायक हवल्दार सुवास कुमारले प्याराग्लाइडिङ गरिसकेपछि कुरा गर्दै रमाइलो लागेको अनुभव सुनाउनु भयो । उहाँले सरकारले पर्यटन प्रवर्द्धनका लागि आवश्यक काम र पहलकदमी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रमाइलो अनुभव भयो । पर्यटनका लागि नेपालमा फोकस गर्नुपर्ने छ ।’

यता चित्लाङ घुम्न आउनुभएका सिन्धुलीका शिक्षक लक्ष्मीप्रसाद घिमिरेले चित्लाङमा प्याराग्लाइडिङ नयाँ आएको र आम नागरिकले धेरै मन पराएको बताउनु भयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवर्द्धनका लागि आकर्षक हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्याराग्लाइडिङ नयाँ आएको रहेछ । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि आकर्षक हुनेछ । सरकारले पनि केही व्यवसायिक लगानी गर्नुपर्छ ।’

उहाँले चित्लाङ र काठमाडौंमा पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ टर्निङ प्वाइन्ट बन्नसक्ने भन्दै सरकारले व्यवसायिक लगानी गरेर भएपनि आवश्यक चासो र हौसला प्रदान गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?