कोहलपुरमा साढे पाँच करोड लागतमा आकाशे पुल बन्दै

हिमालय टाइम्स
Read Time = 5 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाका दुई स्थानमा आकाशे पुल निर्माण गरिने भएको छ । कोहलपुरको मुख्य सडक क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरण र पैदलयात्रीहरूको सुरक्षाका लागि आकाशे पुल निर्माण गरिने भएको हो । सडक दुर्घटनाको उच्च जोखिम रहेका हाईस्कुल चोक र साझा चोकमा आकाशे पुल निर्माणका लागि इन्जिनियरहरूको सहभागितामा प्रारम्भिक नापजाँच गरिएको नगरपालिकाले जनाएको छ । यसअघि लुटबहादुर रावत नगरप्रमुख हुनुभएका बेला नगरपालिकाले  बाँके जिल्लामै पहिलोपटक कोहलपुरमा आकाशे पुल निर्माणका लागि डिपिआर तयार गरिएकोे थियो । कुल १२ लाख रुपैयाँको लागतमा डिपिआर सम्पन्न भइसकेको आकाशे पुल निर्माणका लागि पूर्णप्रसाद आचार्य नेतृत्वको नगरपालिकाले पहिलोपटक इन्जिनियरको सहभागितामा प्रारम्भिक जाँच गरेको हो ।

कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को  नीति तथा कार्यक्रममा समेत  वडा नम्बर १० हाईस्कुल चोक र वडा नम्बर ११ मा रहेको साझा चोकमा आकाशे पुल निर्माण कार्यलाई अघि बढाउने उल्लेख गरेको छ । नगरप्रमुख आचार्यले नीति तथा कार्यक्रममै दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने उल्लेख गरिएको बताउनुभयो । उहाँले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसँग आकाशे पुल निर्माणका लागि अनुरोध गरिएको बताउनुभयो । मन्त्री राईले कोहलपुर नगरपालिकाको संस्थागत आग्रहलाई स्वीकार गरेर इन्जिनियरको टोली पठाइदिएको बताउनुभएको छ ।

गत शुक्रबार सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियरहरूको टोलीले प्रारम्भिक नापजाँच गरेको हो । यसअघि कोहलपुर–नेपालगञ्ज सडकखण्डअन्तर्गत न्युरोड, साझा चोक र हाईस्कुल चोकमा आकाशे पुल निर्माण गरिने बताइएको थियो ।  अहिले नगरपालिकाले न्युरोड चोकबाहेक अन्य दुई स्थानमा आकाशे पुल निर्माणको प्रारम्भिक चरणको कामको सुरुवात गरेको हो । आकाशे पुल निर्माणका लागि न्युनतम एक करोड ७५ लाखदेखि दुई करोडसम्म लागत लाग्ने अनुमान छ । डिपिआरमा साझा चोकमा निर्माण गरिने पुल ५० मिटर र हाईस्कुल चोक क्षेत्रमा निर्माण गरिने पुल ५२ मिटर लम्बाइको हुने उल्लेख छ । आकाशे पुलमा पिलर आरसिसीवाला हुनेछन् ।

साढे पाँच करोड बजेट माग

चालु आर्थिक वर्षको बजेटमा कोहलपुर नगरपालिकाले आकाशे पुल निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । तर, डिपिआरमा तीनवटा आकाशे पुल निर्माण गर्न कुल ६ करोड लाग्ने अनुमान छ । जुन स्थानीय तहले आफ्नै खर्चमा निर्माण गर्न सम्भव छैन । नगरप्रमुख आचार्यले आकाशे पुल निर्माणका लागि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग साढे पाँच करोड बजेट माग गरिएको बताउनुभयो ।

उहाँका अनुसार मन्त्रालयसँग हाईस्कुल चोकमा आकाशे पुल निर्माणका लागि एक करोड ७६ लाख ८२ हजार, न्युरोड चोकमा आकाशे पुल निर्माण गर्न दुई करोड चार लाख र साझा चोकमा निर्माण हुने आकाशे पुलका लागि एक करोड ६६ लाख रुपैयाँ माग गरिएको थियो । न्युरोड चोकको हकमा आफूहरूले बजेट माग गरेको तर मन्त्रालयले नै आगामी वर्षको योजनामा समेट्ने गरी बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको नगरप्रमुख आचार्यको भनाइ छ । ‘यसअघि हामीले आग्रह गरेका थियौँ । मन्त्रीले मन्त्रालय मातहतको कार्यालयबाट इन्जिनियर पठाउनुभएको छ । टोलीले नापजाँच गरेको छ । अब उनीहरूले प्रतिवेदन तयार गर्छन् । सोही अनुसार प्रक्रिया अघि बढ्छ,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?