भारतीय कम्पनीसँग पश्चिम सेती अध्ययन सम्झौता

Read Time = 2 mins

काठमाडौ । सरकारले नेपालका दुई जलविद्युत् आयोजना अध्ययन कार्यको जिम्मा भारतीय कम्पनीलाई दिएको छ । बिहीबार एक विशेष समारोहबीच दुई ठूला जलविद्युत् आयोजना भारतलाई दिने सम्झौता भएको छ ।

इन्डिकेटिभ जडित सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना र इन्डिकेटिभ जडित चार सय ५० मेगावाटको सेती नदी-६ जलविद्युत् परियोजना अध्ययनको जिम्मा भारतीय कम्पनी एनएचपिसीलाई दिने लगानी बोर्डको ५१औँ बैठकले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि बोर्ड र भारतीय कम्पनी एनएचसिपीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपिसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गर्नुभएको छ । एनएचपिसी लिमिटेड भारतीय ऊर्जा मन्त्रालयको स्वामित्वमा रहेको जलविद्युत् बोर्ड हो । जुन सन् १९७५ मा स्थापना भएको थियो ।

चिनियाँ कम्पनी थ्री गजेज इन्टरनेसनल कर्पोरेसनसँग पश्चिम सेती जलविद्युत् आयोजनाको सम्झौता तोडेपछि सरकार लगानीकर्ताको खोजीमा रहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौताको तयारी थियो ।

पश्चिम सेती र सेती नदी-६ आयोजना सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुनेछ । दुई आयोजनाको निर्माण लागत दुई अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीका लागि एक अर्ब ४८ करोड डलर र सेती नदी-६ आयोजनामा ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?