पूर्ण रुपमा प्रतिगमन परास्त नभएसम्म गठबन्धन रहिरहन्छ : चित्रबहादुर केसी

Read Time = 7 mins

-डम्मर बुढा मगर
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमन पूर्णरुपमा परास्त नभइसम्म गठबन्धन रहिरहने बताउनु भएको छ ।
शुक्रबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले गणतन्त्र, धर्मनिपेक्षता नै मास्ने गरी विदेशी शक्तिको आडमा प्रतिगमन भएपछि त्यसलाई जोगाउन गठबन्धन गरिएको बताउनु भयो ।

‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता नै खतरामा परेपछि यो गठबन्धन बनेको हो,’ उहाँले भन्नुभयो,‘प्रतिक्रियावादीहरुले एक दुई सिटका लागि काँग्रेससंग जनमोर्चा मिल्यो भन्छन् । तर यो एक दुई सिटका लागि होईन । कम्तीमा गणतन्त्र जोगाउन कुरामा काँग्रेस सहमत छ । धर्मनिरपेक्षता जोगाउने कुरामा काँग्रेससंग सहमत भएका कारण गठबन्धन बनेको हो ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले मुलुकलाई हिन्दुराष्ट्र बनाउने नियतका साथ पटक पटक संसद भंग गरेपछि राष्ट्रिय जनमोर्चाले नै गठबन्धनको सुरुवात गरेको केसीले दाबी गर्नुभयो। ‘तपाईहरुलाई अचम्म लाग्ला यो गठबन्धनको सुरुवातकर्ता हामी नै हौं, हामीले पहिलो पटक विज्ञप्ती निकालेर सबै दललाई आह्वान ग-यौं,’ केसीले भन्नुभयो, ‘पहिले काँग्रेसहरुले पत्याएनन् ।

माघ ८ गते हामीले काठमाडौंमा अन्तरक्रिया गरेर वरिष्ठ अधिवक्ताहरुले नै यो प्रतिगमन हो र यो यत्तिमै रोकिदैन भनेपछि काँग्रेस पनि कन्भिन्स भयो ।’ काँग्रेससंग थुपै्र विमतिहरु हुँदा हुँदै पनि गणतन्त्र र धर्मनिरपेक्षता जोगाउने सवालमा गठबन्धन जारी रहेको र आगामी निर्वाचनमा पनि गठबन्धन नै गरेर जाने बताउनु भयो ।

‘गठबन्धनले विगतमा पनि प्रतिक्रियावादी र प्रतिगमनकारीहरुलाई ड्यास दिएको छ,’ उहाँले भन्नुभयो,‘छिमेकी मुलुकले यहाँ हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको छ । केही दल नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा लागेका छन् । अहिले पनि गठबन्धनको औचित्य सकिएको छैन ।’ अध्यक्ष केसीले दलहरुबीच गठबन्धन गरेरै निर्वाचनमा जाँदा पनि आफ्नो अजेन्डा नछोड्ने बताउनु भयो ।
‘संघीयताका खारेजी र गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताका रक्षा हाम्रो मूल मुद्दा हो,’ उहाँले भन्नुभयो,‘हामी चुनाव जित्ने बहानामा आफ्ना मुद्दा छोड्दैनौं । हिजो पनि राष्ट्रिय जनमोर्चा एक्लै लडेको हो । अहिले पनि एक्लै लड्न तयार छौं । एक्ला एक्लै जाँदा प्रतिगमन पञ्चायती व्यवस्था र ज्ञानेन्द्रको शाही कदम भन्दा शक्तिशाली हुने भएकाले कार्यगत एकता भएको हो ।’

एमसीसी, नागरिकता विद्येयकमा आफ्नो पार्टीको पाँच दलमा विमती भए पनि गठबन्धन अहिलेको आवश्यकता भएको उहाँको भनाई छ । ‘गठबन्धनमा तपाईँहरुको कुरा मिल्दैन किन बस्नुहुन्छ भन्ने कुरा पनि आएका छन् । सबै कुरा मिले त पार्टी नै एउटै भैहाल्यो नि, मिल्ने कुराहरुमा गठबन्धन हुने र मुलुक जोगाउने कुरामा गठबन्धन भैरहेको छ,’ केसीले भन्नुभयो । अंगिकृत नागरिकका सन्तानलाई पनि वंशजको आधारमा नागरिकता राष्ट्रियता नै खतरामा पर्ने भएकाले यसको राजमोले विरोध गरेको केसीले दाबी गर्नुभयो ।

‘राष्ट्रिय जनमोर्चालाई पनि साथैमा मिलाएको जस्तो देखाउन गठबन्धनका साथीहरुले खोजे,’ केसी भन्नुहुन्छ,‘हामीले यो विद्येयकको विरोध गरेका छौं । बरु एमाले अहिले सबैभन्दा क्रान्तिकारी देखिन खोजेको छ । हिजो यही विद्येयक अध्यादेशबाट लागू गर्न लागेको थियो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनमतको दुरुपयोग गरेका कारण देश समस्यामा परेको उहाँको भनाई छ । ‘ओलीजी पार्टीमा अल्पमतमा पर्ने, सरकारमा अल्पमतमा पर्ने अनि संविधान व्यवस्था नै मासेर संसदको गला निमोठ्ने गर्दा देशलाई अप्ठ्यारो व्यहोरिरहेको छ,’ केसीले भन्नुभयो ।

छिमेकी मुलुकले नेपाललाई हिन्दुराष्ट्र बनाउनेगरी तयार गरेको डिजाईनमा एमाले फसेको केसीको आरोप छ। ठूला दलहरुले राष्ट्रियतालाई सौदाबाजीको विषय बनाएको केसीले बताउनु भयो । ‘अहिलेका ठूला भनिएका दलहरु राष्ट्रियताको विषयमा कत्ति पनि गम्भीर देखिएनन्,’ उहाँले भन्नुभयो,‘यो विषय सधैं सौदाबाजीको विषय बन्यो ।’ तत्कालीन नेकपा भित्रको कुर्चीको झगडा देश र कम्युनिष्ट पार्टीका लागि दूर्भाग्यपूर्ण बनेको उहाँको भनाइ थियो

नागरिकता विधेयकको भने केसीले खुलेरै विरोध गर्नुभयो । नेपाललाई श्रीलंका, फिजी जस्तो बनाउन नागरिकता विधेयक ल्याइएको उहाँको आरोप छ । ‘भारतमा गएका हाम्रा छोरी चेलीले ७ वर्षमा नागरिकताको प्रक्रिया थाल्न पाउने, बुहारीलाई सिंदुरसँगै नागरिकता चाहिने ?’ केसीले भन्नुभयो, ‘यो विषयमा भारतीयको गम्भीर चलखेल छ ।’ नेपालका ठूला दल र शीर्ष नेताहरु भारतीयको इशारामा चलेको उहाँले आरोप लगाउनु भयो । अध्यादेशबाट ल्याउन चाहेको नागरिकता विधेयक अहिले कांग्रेसले संसदबाट ल्यायो भनेर एमालेले रोइलो गरेको भन्दै उहाँले एमालेका नेताहरूमाथि कटाक्ष गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?