नवौँ राष्ट्रिय खेलकुद : गण्डकीमा सुरु भयो खेलाडी प्रशिक्षण र छनोट

हिमालय टाइम्स
Read Time = 8 mins

पोखरा । आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट सुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो ।

विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला हृयाण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल छन् ।

परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।

सदस्यसचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ ।

पोखरा रंगशालामा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट वञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।’

प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३९३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । राखेपका अनुसार सहभागी टिमले ३९३ स्वर्ण, सोही संख्यामा रजत पदक र ६०१ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेलमा ४०७ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता दिइने भएको छ । प्रदेश छनोटका लागि आवश्यक बजेट उपलब्ध गराउने निर्णय गरिएको छ । प्रदेश तथा विभागीय टिमहरूले भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने र प्रत्येक टिमबाट खेलाडी महिला ३३९ र पुरुष ३६९ कोटा निर्धारण गरिएको छ ।

प्रतियोगिताको एकल प्रतिस्पर्धामा स्वर्णपदक विजेता खेलाडीलाई नगद २५ हजार, टिम इभेन्टमा स्वर्ण विजेतालार्ई १५ हजार तथा नयाँ राष्ट्रिय रेकर्ड राख्ने खेलाडीलाई ५० हजार दिइनेछ । प्रतियोगिताको मूल ट्रफी प्रधानमन्त्रीबाट सार्वजनिक गरिने तथा ट्रफीलाई सातै प्रदेश तथा तीन विभागीय टोलीको मुख्यालयमा प्रदर्शन गराइने राखेपले निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारोत्तोलन, सुटिङ, जिम्नास्टिक, पौडी, हृयाण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो–खो, कराते, फुल कन्ट्याक्ट कराते, आइटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङ, रग्बी सेभेन ए साइड, छेलो (प्रदर्शनी), क्यानोइङ (प्रदर्शनी) खेलहरू खेलाइने जनाएको छ ।
नवौँ खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनएको टोलीले भाग लिनेछन् । नवौँ राष्ट्रिय खेलकुदमा एनआरएनएको टोलीले १२ व्यक्तिगत र ६ टिम गरी १८ खेलमा भाग लिनेछ । राखेपले नवौँ खेलकुदका लागि खेलाडी छनोटको जिम्मा प्रदेशलाई नै दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?