विकासको अभियान पूरा नभएकाले सक्रिय राजनीति : वरिष्ठ नेता पौडेल

फाईल फाेटाे

Read Time = 2 mins

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासको अभियान पूरा नभएकाले आफू सक्रिय राजनीतिमा क्रियाशील रहेको बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–३ खहरेमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा बिजुली, पानी, मोटरबाटो पुगे पनि आम्दानी नपुगेकाले त्यसलाई पूरा गर्न आफू क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

गाउँमा सबै सुविधा पुगे पनि रोजगारी र आम्दानी नपुगेकाले अबको ध्यान त्यसतर्फ केन्द्रित रहने उहाँको भनाइ थियो । देशलाई सुशासन दिएर विकास गरेर यो देशका युवालाई विदेशिन नपर्ने, नेपालमै रोजगारीको सिर्जना गर्ने सपना पूरा गराएरै छाड्ने पौडेलले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचारको जालो तोड्नु छ, साउदी अरबको खाडीमा युवा भौतारिन पर्ने बाध्यताको अन्त्य गर्नु आवश्यक छ ।” नयाँ व्यवस्था बनाउन, संविधान बनाउन, महिलालाई अधिकार दिलाउन, जनजातिलाई अधिकार दिलाउनका लागि आफू केन्द्रित रहेको बताउँदै त्यसैका कारण जिल्ला आउन नभ्याएको पौडेलले बताउनुभयो ।

भानुभक्तको जन्मस्थलाई भानु साहित्य उत्थान बनाएर नेपालको मात्रै नभइ विश्वभरि रहेका नेपालीहरू, नेपाली भाषा पढ्नेहरूले जीवनमा एकपटक आउनैपर्ने ठाउँ बनाइने उहाँले बताउनुभयो । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री दीपक भट्टराई, नेपाली कांग्रेस क्षेत्र नं १ सभापति श्याम मौरतीलगायतले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?