‘अव हामी पनि समाजमा मान्छे भएर वाच्न पाउने भयाैं’

हिमालय टाइम्स
Read Time = 5 mins

-नविन कुमार शर्मा

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाका दलित समुदायका दुई जनाको नागरिकतामा नाम अपमानजनक रहेकोले तीन दशक सम्म समाजबाट अपहेलित हुदै आउनु भएका साविक मेहेलतोली गाविस वडा नं-६, हाल भगवतीमाई गाउँपालिका वडा नं-३ मेहेलतोलीका कविराम कामि र साविकको कट्टि गाविस वडा नं-६ हाल भगवतीमाई गाउँपालिका वडा नं-५ वस्ने कर्ण वहादुर कामिले जिल्ला प्रशासन कार्यालय दैलेखबाट नाम सच्चाएको नागरिकताको प्रतिलिपि लिनु भएको छ ।

२०१७ पुस २५ गते जन्मिनु भएका कविराम कामिलाई तत्कालिन समयमा गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकुर कामी’ नाम राखेर २०४६ जेठ ७ गते नागरिकता थमाएको थियो । त्यस्तै २०३५ पुस १० गते जन्मिनु भएका कर्णवहादुर कामीले २०५६ चैत्र २० गते जिल्ला प्रशासन कार्यालय बाटै नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियाे । तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बंशजको आधारमा जारी गरेको नागरिकतामा कर्ण वहादुर कामिको नाम ‘ठगे कामी’ लेखिएको थियो ।

कर्णवहादुर कामिले भन्नुभयाे,'जिल्ला प्रशासनमा नागरिकता लिन आउँदा मैले आफ्नो नाम कर्णबहादुर विक हो मैले त्यहि नाममा नागरिकता पाउनुपर्छ भनेर दाबी गरेको तर कर्मचारीहरुले लिने भए ठगे कामी भनेर नागरिकता दिन्छौ नत्र हुँदैन भनेर ठगे कामी नाम राखेर नागरिकता दिइएको थियाे ।'

नागरिकतामा अपमानजनक नाम भएपछि समाजमा पनि कुकुर भनेर जिस्काउन थाले, छोराछोरीलाई पनि कुकुरको छोराछोरी भनेर भन्न थालियो । घरपरिवार र आफुले भोग्नु परेको अपहेलना सम्झेर कविरामले आखाँबाट आसु झार्दै भन्नु भयाे,'अव हामी पनि समाजमा मान्छे भएर वाच्न पाउने भईयाे ।' उहाँ नामको कारण रोजगारीका लागि भारत भएर दुख गर्नुपरेको र अव आफ्नो नाम कविराम भएको नागरिकताको प्रतिलिपि पाएपछि आफ्नै ठाउँमा वसेर काम गर्ने भन्दै खुशी हुनुभएको थियो ।

नामको कारण आफुले पढ्न छाडनु परेको पिडा सुनाउदै कर्ण वहादुर कामि भन्नुहुन्छ मेरा आफ्ना छोराछोरीलाई विद्यालय समेत पढ्न जादा कसैले जिस्काउन नपाउने भए र म पनि समाजको अगाडि आफ्नो नाम शिर ठाडो पारेर भन्न सक्ने गरी हिड्न सक्छु । पटक पटक नाम सच्चाउन निवेदन समेत दिदा सुनुवाई भएको थिएन । संचारमाध्यममा अपमानजनक नाम भएर जिउन वाध्य भएकाहरुको पिडा आएपछि यहि साउन २३ गते गृह मन्त्रालयले त्यस्ता नाम सच्याउन ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेसँगै उहाँहरुले नाम सच्याउन साउन २४ गते नै निवेदन दिनुभएकाे थियाे ।

नागरिकताको प्रतिलिपि पाएपछि दुवै जनाले संचारकर्मिहरुको अगाडि नेपाल सरकारले ढिलो भएपनि आफुहरुलाई पशु बाट मान्छे वनाएको र समाजको अगाडि मान्छे भएर वाच्न पाउने अधिकारको रक्षा गरेको भन्दै धन्यवाद समेत दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय दैलेखले गृह मन्त्रालयको परिपत्रका आधारमा प्रक्रिया पुरा गरेर अपमानजनक नाम भएका दुवै जनाको वास्तविक नाममा नागरिकताको प्रतिलिपि जारी गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । उहाँले अव केहि दिनमा उहाँहरुकाे श्रीमति र छोराछोरीको नागरिता पनि सच्चाउने जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?