नेपाल प्रहरीले २५ स्थानमा चार्जिङ स्टेसन बनाउने

Read Time = 6 mins

काठमाडौं । नेपाल प्रहरीले विभिन्न २५ स्थानमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच सोमबार विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीतर्फबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीपत्रअनुसार प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित पाँच पेट्रोल पम्प, प्रस्तावित चार पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयका अन्य उपयुक्त स्थान गरी २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गरिनेछ । चार्जिङ स्टेसन दीर्घकालीनरूपमा प्रहरी कल्याण कोष मातहत सञ्चालन हुनेछन् ।

त्यस्तै प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेसनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गर्नेछ । उपकरणको मर्मत तथा नियमित सर्भिसिङसमेत प्राधिकरणले नै गर्नेछ । प्रहरीले पूर्वाधार निर्माणका लागि उपयुक्त स्थान उपलब्ध गराउनेछ र निर्माणपछि चार्जिङ स्टेसन सञ्चालन तथा सुरक्षा गर्नेछ ।

नेपाल प्रहरीले प्रहरी कल्याण कोषद्वारा हाल सञ्चालित पाँच पेट्रोल पम्प, प्रस्तावित चार पेट्रोल पम्प र बाँकी प्रहरी कार्यालयका अन्य उपयुक्त स्थान गरी २५ स्थानमा चार्जिङ स्टेसन स्थापना गर्नेछ ।

चार्जिङ स्टेसन सञ्चालन गर्दा प्राधिकरणले समयानुकूल निर्धारण गरेको दरमा सर्वसाधारणलाई समेत सर्वसुलभरूपमा उपयोग गर्न पाउने व्यवस्था गर्नुपर्नेछ । सवारीसाधन चार्ज गर्दा उपभोक्ताले तिर्ने महसुल प्राधिकरणले सङ्कलन गर्नेछ । विद्युत् वितरण विनियमावलीको व्यवस्थाबमोजिम विद्युत् महसुलदर शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेसन सञ्चालन तथा व्यवस्थापन खर्चका रूपमा प्रहरीको कल्याण महाशाखाले पाउने प्राधिकरणले जनाएको छ ।

प्रहरी महानिरीक्षक सिंहले विद्युतीय सवारीसाधनको प्रयोग गरी मुलुकभित्र उत्पादित विद्युत् खपतका लागि चार्जिङ स्टेसन स्थापनाको समझदारीपत्रमा हस्ताक्षर हुनु ऐतिहासिक अवसर भएको बताउनुभयो । । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न र पेट्रोलियम पदार्थको खपत घटाउन थप २५ स्थानमा अत्याधुनिक स्मार्ट चार्जिङ स्टेसन स्थापना गर्न समझदारी हुनु महत्वपूर्ण कोशेढुंगा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार्जिङ स्टेसनका उपकरण तथा पूर्वाधार निर्माणका लागि करिब एक करोड रुपैयाँ लाग्छ, विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् महसुलमा पनि विशेष सहुलियतदर औसतमा प्रतियुनिट करिब पाँच रुपैयाँ तोकिएको छ, पेट्रोलियम पदार्थ प्रयोग गरी गुड्ने गाडीको प्रतिकिलोमिटर खर्च १५/२० रुपैयाँ पर्छ भने विद्युत्बाट चल्ने गाडीको धेरै सस्तो प्रतिकिलोमिटर करिब ६० पैसादेखि एक रुपैयाँमात्र पर्छ ।’

प्राधिकरणले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहित गर्न देशैभरि ५१ स्थानमा द्रुत चार्ज गर्न सक्ने अत्याधुनिक चार्जिङ स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले निर्माण गरिरहेका हरेक चार्जिङ स्टेसनमा एक सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभिएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिने बताइएको छ । त्यस्तै चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिनेछन् । जसबाट ठूला बससहित तीनवटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने र ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुने बताइएको छ । सवारीसाधनको चार्जपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?