काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, आज प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

-चन्द्रकान्त खनाल

बुटवल । निर्माण सुरु भएको आठ वर्षपछि बुटवलमा काठमाडौं बाहिरको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको छ ।

बुटवल–१० स्थित बुटवल मण्डपको साढे ६ बिघा क्षेत्रफलमा एक हजार जना क्षमताको मुख्य हल र अन्य १२ वटा हल सहितको सम्मेलन केन्द्र निर्माणको काम पूरा भएको हो । संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागले एक अर्ब ११ करोडको लागतमा सम्मेलन केन्द्र तयार भएको छ ।

बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा फैलिएको सम्मेलन केन्द्रको भौतिक संरचना निकै आर्कषक बनाइएको छ ।

सभाहल अगाडि पानीका फोहोरा सहित पोखरी निर्माण गरिएको छ । सम्मेलन केन्द्रबाट प्रवेश गर्ने बाहिरिनेहरूका लागि छुट्टाछुट्टै गेट तयार गरिएको छ । ती गेटहरू पनि आर्कषक डिजाइनमा छन् । पाँच वटा गेटमा प्रवेश र निकासद्वार, भिआईपी र सर्भिस गेट रहेका छन् ।

विभिन्न १३ वटा वातानुकूलित हलहितको सम्मेलन केन्द्रको आज (शनिबार) प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु हुने भएको छ । २०७१ साल पुसदेखि निर्माण सुरु गरिएको सम्मेलन केन्द्र दुई चरण गरेर सम्पन्न भएको हो ।

भूकम्प, नाकाबन्दी, कोरोना (कोभिड–१९) महामारीका कारण र रुख कटानमा ढिलाइ लगायतका कारणले निर्माणको काममा ढिलाई भएको थियो । आयोजनाको दोस्रो चरणको काम २०७६ कात्तिकसम्म पूरा गर्ने गरी २०७४ सालमा सम्झौता भएको थियो । तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो ।

थप भएको म्याद अगावै २०७९ असारमै निर्माण सम्पन्न भएको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले वताउनु भयो ।
आकाशबाट हेर्दा नेपालको झण्डा आकारमा तयार पारिएको सम्मेलन केन्द्रको मुख्य हल (अडिटोरियम हल) मा बाल्कोनी र भुँई तलामा गरी ८७२ वटा कुर्सी जडान गरिएको छ ।

यस्तै सम्मेलन केन्द्रमा ५० र ४२ सिट क्षमताका दुई वटा लेक्चर हल तथा ८० र ३०० जना क्षमताका सेमिनार हल छन् । यस्तै ७२ जनादेखि १२६ जना क्षमताका ६ वटा मिटिङ हल, तथा ३५० र ५८६ जना क्षमताका थप दुई वटा हल छन् ।

सबै हलमा एक पटकमा २९ सय जना अटाउन सक्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । सम्मेलन केन्द्रका १७ सय कुर्सी आवश्यकता अनुसार सार्न मिल्ने छन् ।
अपांगमैत्री सम्मेलन केन्द्रमा चार सयवटा चार पांग्रे र चार सयवटा मोटरसाइकल राख्न मिल्ने गरी पार्किङ स्थल र हेलिप्याड समेत बनाइएको छ ।

सम्मेलन केन्द्रमा बाल उद्यान, क्यान्टिन, सर्भिस भवन, कर्मचारी आवास सुविधासहित विद्युतका लागि ६३० केभीए क्षमताको ट्रान्सफर्मर र खानेपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ ।

सम्मेलन केन्द्र प्रवेश गर्दा आकर्षक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । जमिन मुनिको पानी रिचार्ज गर्न आठ वटा रिचार्ज पटि पनि बनाइएको छ ।

सम्मेलन केन्द्रसँगैको ६ बिघा जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र समेत बन्दै छ । प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र दुवैलाई मिल्ने गरी पार्किङ स्थल र प्रवेशद्वार बनेका छन् । सम्मेलन केन्द्र बनेसँगै सानादेखि ठूला सममेलन र सेमिनारहरु गर्न ठाउँ अभावको समस्या हट्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?