गीता अधिकारी
नेपाली साहित्याकाशमा आफ्ना थुप्रै ओजश्वी रचनामार्फत पाठकको मन जित्न सफल हुनुहुन्छ स्रष्टा खिमानन्द आचार्य । ‘धर्तीका माकुरा (कवितासङ्ग्रह), ‘पागल साथी (कथासङ्ग्रह), मनका तरङ्गहरू (गीतसङ्ग्रह), आस्थाका बिम्बहरू (कवितासङ्ग्रह) जस्ता कृतिमार्फत पाठकको मन मस्तिष्कमा राज गर्न सफल स्रष्टा आचार्यको लघुकथासङ्ग्रह ‘पश्चात्ताप’ पछिल्लो कृति पाठकमाझ आएको हो । साहित्यका विविध विधामा कलम चलाउनु हुने स्रष्टा आचार्यका केही सम्पादित कृति पनि रहेका छन् । उहाँले अनेक डायस्पोराका कविता (कवितासङ्ग्रह २०६९) को प्रधानसम्पादकका रूपमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको पाइन्छ ।
अर्घाखाँचीको डिभर्ना स्थायी घर भएका आचार्यले लामो समयसम्म देशकै जेठो सञ्चारगृह गोरखापत्रमा संस्थानमा कार्य गर्नुभयो भने पछिल्लो समय उहाँको कर्मभूमि धेरैको सपनाको देश अमेरिका रहेको छ । देशबाहिर रहेर पनि माटाको सुगन्धका सिर्जनमा आफूलाई तल्लिन बनाउनु भएका स्रष्टा आचार्यको सिर्जनामा हाम्रो परिवेश, समाज, यहाँको वस्तुस्थिति, घटनाक्रम र समय सन्दर्भ पाइन्छ । डिभर्ना-काठमाडौं समाजका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँको पछिल्लो कृति लघुकथासङ्ग्रह ‘पश्चात्ताप’ लाई उहाँले ‘मलाई संसार देखाउने स्व. पिता विद्धुराम आचार्य, स्व. माता ठगिश्वरा आचार्य’ भन्दै समर्पण गर्नुभएको छ ।
साहित्यका विविध विधामा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्दै आउनुभएका स्रष्टा आचार्यको ‘पश्चात्ताप’ पहिलो लघुकथासङ्ग्रह हो । उहाँ विदेशमा रहेपनि यसमा रहेका लघुकथा हाम्रो जनजीवन र हाम्रै वरिपरिका विभिन्न परिवेशसँग मेल खाने खालका छन् ।
कथाकारको परिवार भनेर आफ्नो साथै श्रीमती सरस्वती आचार्य, ज्येष्ठ पुत्र शैलेश आचार्य, कनिष्ठ पुत्र सुलभ आचार्यको तस्बिर राखेर उहाँले यस कृतिको दैलो उर्घानु भएको छ । ७५ पृष्ठको यस सङ्ग्रहको मूल्य दुई सय रुपैयाँ राखिएको छ । ‘पश्चात्ताप’ मा उहाँले ‘कुकर्मको फल’, ‘सुन्दर फूलहरू’, ‘सन्त्रास’, ‘निदाउन सकिनँ’, ‘पुतली’, ‘सुमिना’, ‘अंश’, ‘सुन्दरी’, ‘स्वर्गवास होस्’, ‘निभेको आगो’, ‘पैसामात्र होइन’, ‘देशान्तर’, ‘सार्थक जीवन’, ‘पापिनी आमा’, ‘पैसाको राप’, ‘छोरालाई चिठ्ठी’, ‘धोको’, ‘अभागी’, ‘सत्य रहेछ’, ‘पश्चात्ताप’ ‘आत्मदेव-१’, ‘आत्मदेव-२’, ‘छोरा’, ‘अनागरिक’, ‘डोरपास’, ‘लाहुरेनी’, ‘निदाउन नसकेको रात’, ‘ए छोरी पो ¤’, ‘शहर बस्ने रहर’, ‘विरासत’, ‘कर्मे’, ‘दुष्टको सङ्गति’, ‘ढुङ्ग्री’, ‘देवव्रत’, ‘खासखुस’, ‘भेरी नाइस’ र ‘माइला’ जस्ता ३७ वटा शीर्षकका थुँगामा लघुकथा पस्किनु भएको छ ।
यस सङ्ग्रहमा लघुकथा समाज, नेपालका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘सकारात्मक लघुकथासङ्ग्रह’ शीर्षकमा भूमिका रहेको छ भने लेखकले ‘मनको कुरो’ शीर्षकमा आफ्ना कुरा व्यक्त गर्नुभएको छ । ‘कुकर्मको फल’ लघुकथाबाट यस कथाको सुरुवात गर्नुभएका स्रष्टा आचार्यले ‘माइला’बाट कथाको मैजारो गर्नुभएको छ । विसं २०४३ सालमा ‘धर्तीका माकुरा’ कवितासङ्ग्रह पाठकमाझ ल्याएर आफ्नो कवित्व प्रस्तुत गर्नुभएका स्रष्टा आचार्यले २०७८ मा आएर लघुकथासङ्ग्रह पाठकमाझ ल्याउनुभएको हो ।
लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा आफ्ना कृति पस्किँदै आउनुभएका उहाँका अरू कृति पनि पालो कुरेर बसेका छन् । अमेरिकाको समय व्यस्तताबीच पनि उहाँ आफ्ना अन्तरमनका कुनामा भएका भावनालाई बाहिर ल्याइरहनु भएको छ र नेपाली साहित्य क्षेत्रमा अमिट छाप छोड्न सफल हुनुुभएको छ । लेखक जहाँ पुगे पनि जस्तो अवस्थामा भएपनि ऊ चुप लागेर बस्न सक्दैन भन्ने स्रष्टा आचार्यले आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्नुभएको छ । ‘समग्रमा लघुकथाहरूले सत्मार्गलाई पछ्याएको छ । अनुशासित जीवनपद्धतिमा जोड दिएको छ । परिवार र समाजको आदर्शलाई कायम राख्नुपर्नेजस्ता सकारात्मक सन्देशका लघुकथाहरूले गर्दा ‘पश्चात्ताप’ लघुकथासङ्ग्रह पठनीय बनेको छ’, आफ्नो भूमिका लेखनमा स्रष्टा रोदनले भन्नुभएको छ ।
यस्तै लघुकथाकार आचार्यले आफ्नो मनको कुरामा भन्नुभएको छ, ‘कामको ब्यवस्तताले गर्दा अनेक विचारका पालुवाहरू मनैभित्र कुण्ठित भएर हराउँथे । भावनात्मक संवेगका छालहरू लहलहाए पनि हराउन विवश हुन्थे । तत्पश्चात् विभिन्न समयमा सिर्जना भएका कथा, कविता र गीत एकाधबाहेक सबै जन्मभूमिप्रतिको अगाध स्नेहको कारणबाट सङ्गति र विसङ्गतिलाई चित्रण गर्न खोजेको छु । विशेषतः लघुकथा समाजको त्यस्तो सिम्बोल हो-जहाँ पाठकले छोटो समयमा समग्र समाजको स्वरूप देख्नसक्छ । लघुकथाका प्रत्येक शब्दले अर्थबोध गराउँछ भन्ने मेरो विचार छ-जहाँ प्रतीकात्मक रूपमा पात्रहरू खेल्छन् र नाच्छन पनि ।
साहित्यका विविध विधामा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्दै आउनुभएका स्रष्टा आचार्यको ‘पश्चात्ताप’ पहिलो लघुकथासङ्ग्रह हो । उहाँ विदेशमा रहेपनि यसमा रहेका लघुकथा हाम्रो जनजीवन र हाम्रै वरिपरिका विभिन्न परिवेशसँग मेल खाने खालका छन् । हाम्रो समाजमा भइरहेका विभिन्न विषय वस्तुलाई बडो कलात्मक, रोचक र गहन ढङ्गले उहाँले पस्किनु भएको छ । सबैभन्दा ठूलो कुरा त यसमा भएका प्रायः सबै लघुकथा सकारात्मक र सन्देशमूलक छन् । मानवता, सत्कर्मका पक्षमा साथै दर्शन र चिन्तनपरक रहेका छन् । हाम्रो समाजमा जकडिएर बसेको परम्परागत सोच र अन्धविश्वासलाई उहाँले यसमा रहेका कथामार्फत यस्ता जञ्जिरलाई तोड्नुपर्ने उदघोष गर्नुभएको छ । सकारात्मक परिवर्तनको आवाज बुलन्द गर्नुभएको छ ।
सबै कथा उत्तिकै रोचक, ज्ञानबद्र्धक र प्रेरणदायक छन् । परम्परागत सोच र अन्धविश्वास, सामाजिक विभेद, समाजमा रहेका निकृष्ट कार्यलाई उहाँले यहाँ उजागर गर्नुभएको छ । त्यस्तै कथामार्फत उहाँले समाजमा सन्देश र चेतनाको विकुल फुक्नु भएको छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, आफ्नोपनलाई जोगाउँदै भोलिको पुस्तालाई हाम्रो भाषा, साहित्य, कला संस्कृति जस्ताको तस्तै सुम्पनु हाम्रो कर्तव्य हो भन्ने सन्देश पनि उहाँले आफ्ना कथामार्फत प्रस्तुत गर्नुभएको छ ।
पहिलो कथा पढन सुरु गरेपछि सबै कथा पढ्ने कौतुहल्ता पाठकमा जाग्ने गर्दछ । कथाले पाठकलाई बाँधेर राख्दछ । यो स्रष्टा आचार्यको सबैभन्दा ठूलो र राम्रो पक्ष छ । सरल सहज रूपमा गहन विषयवस्तु पस्कन सक्नु उहाँको विशेषता रहेको पाइन्छ यो लघुकथा पढेपछि । लघुकथामा यस्तो सशक्त कृतिका लागि स्रष्टा आचार्यलाई हार्दिक बधाई तथा शुभकामना । उहाँका सिर्जनशील यस्ता महान् कार्यका लागि नमन । स्रष्टा आचार्यका आगामी दिनमा यस्तै यस्तै अन्य कृतिको रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच