भुस्याहा कुकुरको बन्ध्याकरण !

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । पाल्पामा भुस्याहा कुकुरको आतंक बढेपछि नियन्त्रणका लागि धामाधम बन्ध्याकरण गर्न थालिएको छ । यहाँ भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको आतंक न्यूनिकरणका लागि बन्ध्याकरण अभियान नै सञ्चालन भएको छ ।

रामपुर नगर सरकारले वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्था समन्यमा रामपुर भित्र रहेका कुकुरहरुमा स्थायी बन्धयाकरण शिविर नै सञ्चालन गरेको छ । रामपुरका चोक–चोकमा यतिबेला भुस्या कुकुरको बिगबिगी बढेको छ । कुकुरका कारण सवारी साधन चलाउन, हिंडडुल गर्न अप्ठेरो पर्नुका साथै नगरको सौन्दर्यमा समेत असर पु-याएको छ । टोल–टोलमा कुकुरका बथान हिंड्न थालेपछि रातदिन समस्या हुने गरेको छ ।

शिविरमा कुुकुरको बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसनको सेवा दिइएको छ । कुकुरबाट पशु चौपायासँगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न सक्ने भएपछि यस्तो शिविर सञ्चालन गरिएको वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष विपिन भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘सहरी क्षेत्रमा छाडा कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि बन्ध्याकरण गर्न थालेका हौं । ’

नगर भित्र भुुस्याहा ककुर व्यवस्थापनको चुनौति बन्दै गएका बेला युवा संस्थाले देखाएको चासो र सक्रियता महत्वपूर्ण रहेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । घरपालुवा जनावर भए पनि भुस्याहा कुकुरको कारण नगरमा आतंक फैलिरहेको बताउँदै उहाँले कुकरबाट सर्न सक्ने क्यान्सरको जोखिम न्यूनिकरणको लागि शिविरले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले भन्नुभयो, ‘भुस्याहा कुकुरको संख्या वृद्धि हुँदै जाँदा कतिपय स्थानमा पशु चौपायासँगै मानिसलाई टोक्नुका साथै बालबालिकालाई लखेट्ने लगाएतका घटना हुँदै आएको छ । कुकुरबाट रेविजसँगै क्यान्सर रोग सर्ने सम्भावना भएकाले यसको न्यूनिकरण र कुकुरको संरक्षणसँगै संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण विकल्प बनेको छ ।’ बन्ध्याकरणले भुस्याहा कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढने सडक दुर्घटनामा समेत कमी ल्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

भुस्याहा कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजनामा नगर सरकार रहेको छ । रामपुर –४ का वडा अध्यक्ष रामबहादुर रानाले कुकुर नियन्त्रणमा नगरले चालेको कदममा समुदायले देखाएको चासोप्रति आभार व्यक्त गर्नुभयो । पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन २०३० भित्र रेविज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा नेपालमा पनि प्रयास हुँदै आएको बताउनुभयो । कुकुरबाट रेविज रोगसँगै गुप्ताङ्गको क्यान्सर सर्न सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको उहाँको भनाई छ । बन्ध्याकरण पश्चात कुकुरबाट रोग सर्न सक्ने सम्भावना न्यून हुनुका साथै कुकुर आक्रामक नहुने क्षेत्रीले बताउनुभयो ।

रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविरमा १०० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ । पछिल्लो समय रामपुर सहित जिल्लाका अधिकांस स्थानमा भुस्याहा कुकुरले झुण्ड बनाएर बाटो हिडने बटुवा र पशु चौपायाहरुमा आक्रमण गर्ने कार्य बढिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?