दुई महिनामै टुट्यो एमाले नेतृत्वको गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आठ दलको निर्णय

बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डको उद्घोष-आजबाट नयाँ राजनीतिक यात्रा सुरु भयो

नारायण भण्डारी
Read Time = 10 mins

काठमाडौं । आठ दलले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको छ । शुक्रबार बालुवाटारमा जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो । ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । कांग्रेसको उम्मेदवारलाई सघाउन हामी आठ दल सहमत भयौँ,’ उहाँले भन्नुभयो । राष्ट्रपतिमा आफूहरूको पनि दाबी भए तापनि संसद्को ठूलो दल कांग्रेसलाई समर्थन गरेको उहाँले बताउनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको चाहनाअनुसार अघि बढ्नुपर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरु भएको बताउनुभएको थियो ।

‘प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको छ । हामीले जनताको चाहनाअनुसार अघि बढौँ भन्नुभयो । हामी सत्ता समीकरणको बेलामा थप छलफल गरेर जाऊँ भनेर अपिल गर्नुभयो’, उपमहासचिव ज्वालाले भन्नुभयो । राष्ट्रपति उम्मेदवार को भन्नेबारे कांग्रेस आफैँले छलफल गर्ने उहाँले बताउनुभयो । ‘व्यक्ति को भन्नेबारे कांग्रेसले छलफल गर्ला । त्यो उसैको कुरा हो’, उहाँले भन्नुभयो । उम्मेदवार तय गर्नका लागि आज बिहान कांग्रेस बैठक बस्दै छ । यस्तै, जसपा कार्यकारी सदस्य राजेन्द्र श्रेष्ठले कार्यदल बनाएर थप शक्ति बाँडफाँटबारे पछि छलफल गर्ने बताउनुभयो ।

‘आज राष्ट्रपतिको बारेमा मात्र कुरा भयो । अब उपराष्ट्रपति, प्रधानमन्त्रीको कार्यकाल, बाँडफाँटलगायत विषयमा पछि कार्यदल बनाएर छलफल गर्नेछौँ’, उहाँले भन्नुभयो ।

यस्तै, उपराष्ट्रपतिको पद जसपालाई दिने सैद्धान्तिक सहमति पनि भएको छ । नयाँ राजनीतिक यात्राको सुरुवात भएको प्रधानमन्त्रीको घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ । राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन शुक्रबार आठ दल एकैठाउँ भेला भएका हुन् ।

छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरू सहभागी थिए । बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएनन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ दलको बालुवाटारमा शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवार कांग्रेसले तय गर्ने भनिए पनि रामचन्द्र पौडेलको नामबारे अनौपचारिक रूपमा टुंगिएको बैठकका एक सहभागीले जानकारी दिनुभयो । कांग्रेसले अनौपचारिक रूपमा रामचद्र पौडेलको नाम राष्ट्रपतिका उम्मेदवारका रूपमा तय गरिसकेको छ भने आठ दलको बैठकमा पनि उहाँको नामबारे अनौपचारिक सहमति बनेको थियो । बालुवाटार स्रोतका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उठाउने समझदारी भएको छ भने उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यसैगरी, प्रचण्डले अढाई वर्ष, कांग्रेस सभापति शेरबहादुर देउवाले डेढ वर्ष र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष सरकारको नेतृत्व गर्ने गरी गठबन्धनमा सहमति भएको छ । आठ दलीय बैठकका सहमतिबारे शनिबार बिहान ८ बजे औपचारिक रूपमा जानकारी गराइने एक नेताले जानकारी दिनुभयो ।

एमालेको प्रतिक्रिया- मुलुक अन्त्यहीन अस्थिरतातर्फ धकेल्ने खेल भयो
नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन तोडेको बताउनुभएको छ । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताउनुभएको हो । ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नुभएको छ’ ज्ञवालीले हिमालय टाइम्ससँग भन्नुभयोे । उहाँले आठ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताउनुभयो ।

‘यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देश अघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखापर्ने थालेको थियो । मुलुकलाई फेरि अस्थिरता अन्योल सत्ताको लुछाचुँडी र भागबण्डामा लैजाने र विस्तारै लोकतन्त्रमाथि नै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीले भन्नुभयोे, ‘यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरूलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’ ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरूको चलखेल निकै देखिएको बताउनुभयो । ‘नेपालको आन्तरिक मामिलामा आफैँ निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले भन्नुभयो ।

नेकपा एमालेले सरकार र राष्ट्रपतिको उम्मेदवारीबारे शनिबार बिहान निर्णय गर्ने भएको छ । जसका लागि एमालेले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको छ । सम्भवतः शनिबार नै सरकारबाट बाहिरिने निर्णय हुनसक्ने एमालेका एक पदाधिकारीले बताउनुभयो ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनको भारी बहुमत पुग्ने
राष्ट्रपति निर्वाचनका लागि शुक्रबार (१२ फागुन) मा बनेको आठ दलीय गठबन्धनको निर्णयसँगै राष्ट्रपतिमा कांग्रेसले खडा गर्ने उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ । १० पुसमा भएको समझदारीअनुसार राष्ट्रपति आफ्नै पार्टीबाट हुनुपर्ने अडान एमालेले नछाडेपछि माओवादी केन्द्रले कांग्रेसलाई सघाउने निर्णय गरेपछि कांग्रेस उम्मेदवार ३१ हजारभन्दा बढी मतभारका साथ राष्ट्रपतिमा विजयी हुने सम्भावना देखिएको छ । संघीय संसद् र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसको मतभार १६ हजार २२१ छ भने माओवादी केन्द्रको सात हजार ७७६ छ । यसैगरी, एकीकृत समाजवादीको दुई हजार ६७३, जसपाको २ हजार १४५, जनमत पार्टीको एक हजार २४२, लोसपाको ९७१, नागरिक उन्मुक्तिको ८०४ र राष्ट्रिय जनमोर्चाको २२३ मतभार छ । यी सबै मतभारहरूको कुल योगफल ३१ हजार ६७ हुन आउँछ । यो गठबन्धनमा अन्य दलहरू पनि मिसिए भने निर्वाचनमा कांग्रेस उम्मेदवारले अझ बढी मत हासिल गर्नेछन् ।

राप्रपा राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ । शुक्रबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । राप्रपाले निर्वाचनमा मत हाल्ने नहाल्ने भन्नेबारे छलफल जारी रहेको श्रेष्ठको भनाइ छ । सरकारमा सहभागी भए पनि राप्रपा राष्ट्रपतिको उम्मेदवार भने नउठाउने भएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?