वस्तु विनिमयको परम्परा धान्दै इन्द्रवतीका भाँडा व्यवसायी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । गएको सोमवार बिहान बिहानै डोकोभरी अनेक प्रकारका भाँडा बर्तनहरु बोकेर तीन जना व्यापारीहरु म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँमा आए ।

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं ८ मा घर बताउने तीन जना व्यापारीहरु मध्ये सबै भन्दा अघि हुनुहुन्थो ५६ वर्षिय फुलबहादुर तामाङ । त्यसपछि धादिङ इन्द्रवतीकै केशबकुमार आचार्य र महेन्द्र गुरुङ ।

उहाँहरुले भाँडाको भारी बोकेर गाउँ गाउँमा डुल्न थालेको ४० वर्ष भन्दा बढी भएको बताउनुभयो । “१४ वर्षको उमेरदेखि भाँडाको भारी बोकेर बासँग गाउँ गाउँमा डुल्न थालेको हुँ,यही पेशाबाट मेरो जिन्दगी चलेको छ,पुख्र्यौली पेशा पनि धानिएको छ” फूलबहादुर तामाङले भन्नुभयो ।
पर्वतको अर्मादीमा फुलबहादुर तामाङ सहित १२ जनाको समुहले भाँडा स्टोर गरेर राख्नुभएको छ । “हाम्रो १२ जनाको समूह छ,अर्मादीमा भाँडा स्टोर छ,त्यहीबाँट भाँडा विक्री र सटही गर्न म्याग्दी,पर्वत र बागलुङका विभिन्न गाउँमा जाने गर्छौ र पुराना भाँडालाई त्यही लगेर जम्मा गर्ने गर्छौंँ” फुलबहादुरले भन्नुभयो ।

गाउँमा तीन छोरा र श्रीमती भएका तामाङलाई आफ्ना पुर्खाहरुले कहिलेदेखि घुमन्ते व्यापार गर्न थालेका हुन् भन्ने एकीन हेक्का छैन । तर, पनि बाबु बाजेको पालादेखि नै यही पेशा गर्ने गरेकोले आफू पनि यही पेशामा लागेको बताउनुहुन्छ । पहिलो पटक १४ वर्षको उमेरमा बाबा सँग भाँडा बोकेर ब्यापारमा निस्केका तामाङ अहिले सम्म पनि त्यही पेशामै हुनुहुन्छ ।

मंसिरको अन्तिम साता धादिङदेखि पर्वतको अर्मादी आउनुभएका गुरुङको समुहले चैतको पहिलो सातासम्म यस क्षेत्रमा ब्यापार गरेपछि पुन गाउँ फर्केर अर्को ठाउँमा ब्यापारका लागि हिड्ने योजना रहेको बताउनुहुन्छ ।

डोकोमा नयाँ भाडा ल्याएर गाउँमा गएर कोही बेच्ने कोही साट्ने गर्ने सिन्धुपाल्चोकका ब्यापारीहरुको पुस्तैनी काम हो । उहाँहरुले आफ्नो नयाँ सामान र ग्राहकहरु सँगको पुरानो सामानको पनि मुल्य निर्धारण गर्ने र बराबर मुल्य परेमा पुरानो लिएर नयाँ सामान दिने गर्नुहुन्छ भने यदी मूल्य नयाँको कम परेमा आफूहरुले दिने र पुरानोको कम भएमा ग्राहक सँग रकम लिएर साट्ने गर्नुहुन्छ ।

गुरुङका अनुसार व्यापार पहिला जस्तो छैन, अहिले सामान्य छ । वर्षमा एक पटक पर्वत बागलुङ म्याग्दी क्षेत्रमा ब्यापारका लागि आउने गरेका उहाँहरुले मासिक सबै खर्च कटाएर २० देखि २५ हजार रुपियाँसम्म जोगाउने बताउनुहुन्छ । “यही ब्यापार सिकियो र यसैमा रमााएका छौं, हुँदै भएन भने पनि महिनामा २० हजार रुपियाँसम्म जोगाउने गरेका छौं” गुरुङले भन्नुभयो ।

आधुनिक प्रविधिको विकास भएसंगै मानिसहरु छिटो र भरपर्दो सेवाको प्रयोगमा लाग्छन् । आफ्ना आवश्यक्ताहरु परिपुर्ति गर्न आधुनिक स्रोत साधनको प्रयोग बढेको छ । सडक यातायातको विकासले गाउँघरमै सुविधा पाएपछि ग्रामिण क्षेत्रका स्थानीय बासिन्दा आपैm बजार झरेर नयाँ भाँडा किन्ने गर्छन् । केहि वर्ष अघिसम्म पुराना भाँडाहरु सबैका घर–घरमा देखिन्थे। भाँडा साटफेर गर्नेहरु गाँउ–गाउँमा भाँडा साट्दै हिड्ने गर्दथे। आजभोलि गाउँघरतिर डोकोमा भाँडो बोकेर हिडेको बिरलै भेटिन्छन् ।

“धेरै पढाई लेखाई छैन त्यसैले दुःख भएपनि पुर्खाले गरेको पेसा अङ्गाल्दै आईरहेका छौं,” अर्का व्यापारी केशवकुमार आचार्यले भन्नुभयो ।
“अहिले यातायातको सुविधा छ, तर भाडा खर्चमा लाग्ने रकम बचाउँन सकिन्छ कि भनेर डोकोमा बोकेर जिल्लाका सबै ठाउँमा बिक्रि र साटफेर गर्दै हिड्छौं,” आचार्यले भन्नुभयो ।

केहि वर्ष अघिसम्म नयाँसंग पुराना भाँडाहरु साट्नका लागि गाउँ–गाउँमा डोकोभरी भाँडा बोकेर हिडेको पाईन्थ्यो । पूर्वका पश्चिम क्षेत्र र पश्चिमका पुर्वी क्षेत्रतिर भाँडा बोकेर साटफेर गर्न हिड्ने गर्दथे । तामा, स्टिल र सिल्टीका भाँडा बनाउँने र बेच्ने व्यावसायीहरु नै भरिया बनेर गाउँघरमा हिड्ने गर्दथे । आजभोलि गाउँघरतिर मात्र नभएर कतै भेटिदैनन् ।

ठाउँ–ठाउँमा भारि बिसाउँदै थकाई मार्दै वारि गाउँ र पारि गाउँ गर्दै डोकोभरिका नयाँ भाँडा सकेर पुराना भाँडाले फेरि डोको भरेर आफ्नै घर फर्कन्थे । प्रायजसो भाँडा साटफेर गर्नेहरु जुम्लातिरबाट आउँने गरेको बेनी नगरपालिका २ बगरफाँटका ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।

गाउँघरमा बुढापाकाहरु भाँडा साट्नेहरु आउँछन् भनेर पुराना र टुटेका भाँडाहरु सुरक्षित साथ राखिरहन्थे । त्यसबेला आफुहरुलाई भाँडा साट्नेहरु खोज्न पर्ने चिन्ता नभएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?