मुगु । छायाँनाथ रारा नगरपालिका-५ का स्याउ किसान बिस्नमाया रोकायाका परिवारलाई अचेल स्याउ टिप्न भ्याइनभ्याइ छ । भदौ लागेसँगै उहाँको परिवार बिहानैदेखि बगैँचामै हुने गरेको छ ।
मुगुसहितका भेगमा अहिले स्याउ पाक्ने बेला हो । यसकारण यहाँका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । वडा नम्बर ४ का किसान हरिबहादुर भाम पनि स्याउ टिप्न व्यस्त हुनुहुन्छ । उहाँहरू मात्र होइन यतिबेला मुगुका स्याउ उत्पादन हुने क्षेत्रका किसानलाई स्याउ टिप्ने चटारो छ ।
मुगुका बाम, ताल्च, रोवा, शोभा, खमाले सेरीलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । हुनत यो समय स्याउ टिप्नको लागि उपयुक्त समय होइन । मुगुमा स्याउ टिप्ने समय भदौको अन्तिम तथा असोजतिर मात्रै हो ।
भदौ अन्तिमतिर सबैले एकै पटक स्याउ टिपे स्याउले बजार नपाउने हुन्छ । कतिपय त रूखमै कुहिने भएकाले अहिलेनै धमाधम टिपेर बगैँचा खाली गर्न थालेको किसानहरू बताउँछन् ।
केही किसान भने स्याउ भण्डारण गर्ने ठाउँ नभएको बताउँदै व्यापारी बगैँचामा आएको मौकामा स्याउ बेच्न लागेको बताउँछन् । 'व्यापारी अहिले नै आएका छन् अलिअलि काँचो भए पनि लैजान्छन् ।' किसान हरि बहादुर भामले भन्नुभयाे ।
यतिबेला स्याउ व्यापारी बगैँचामा आएर प्रतिकेजी ३० रुपैयाँमा लिने गरेकाे किसानहरू बताउँछन् । आफूले पनि उत्पादन धेरै भएको स्याउ बजारीकरणको समस्याले कुहिने डरले बिक्री गर्ने गरेकाे स्याउ किसान सूर्य प्रकाश भामले बताउनुभयाे । उहाँका अनुसार स्याउ राख्ने कार्टुन नहुँदा पनि समस्या भएको छ ।
बिस्नमाया रोकायाका बारीमा १५ सय स्याउका बोट छन् । यो वर्ष स्याउ उत्पादन धेरै हुने भएकाले उहाँलाई कसरी बेच्ने भन्ने चिन्ता लाग्न थालेको छ । उहाँले भन्नुभयाे, 'नेपालगञ्ज, सुर्खेतलगायतका बजारमा लैजाने योजना छु ।'
स्याउ उत्पादन धेरै भए पनि मुगु जाने राम्रो सडक छैन । गत वर्षभन्दा यसपटक स्याउ उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालय मुगुले पनि गरेको छ । अघिल्लो वर्षमा ३४ मेट्रिक टन स्याउ उत्पादन भएको निमित्त कार्यालय प्रमुख दुर्गाबहादुर शाहीले बताउनुभयाे ।
यस वर्ष जिल्लामा गत वर्ष भन्दा ५ देखि १० प्रतिशत स्याउ उत्पादनमा वृद्धि हुने शाहीले बताउनुभयाे । मुगुमा विशेष गरी तीन प्रकारका रोयल डेलिसेस्, रेट डेलिसेस्, र गोल्डेन डेलिसेस् स्याउ उत्पादन हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच