शृंखला कब्जा गर्न चुक्यो नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले हार व्यहोरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई केन्याले ७ रनले हराएको हो । केन्याले दिएको १०२ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४७ रन बनाउनुभयो । आदील अन्सारीले ८ रन जोड्दा दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल र अर्जुन साउद समान ६ रनमा आउट हुनुभयो । करण केसी ५ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट हुनुभयो । पवन सर्राफ र सोमपाल कामीले खाता खोल्न सक्नुभएन । सन्दीप लामिछाने ४ रनमा अविजित रहँदा साहब आलम शुन्य रनमा अविजित रहनुभयो ।

यता, केन्याका रकिप पटेलले ३ विकेट लिनुभयो । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले २/२ विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाउनुभयो ।

यस जितसँगै पाँच खेलको टी-ट्वान्टी सिरिजमा केन्याले २-२ को बराबरी गरेको छ । अब निर्णायक मानिएको नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ । टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ । पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?