रामचन्द्र पौडेलको प्रश्न: ५१ प्रतिशत जित्ने कांग्रेस किन बनाउन सकेनौ ?

हिमालय टाइम्स
Read Time = 11 mins

काठमाडौं । यो संविधान सम्झौता हो। संविधानसभामा माओवादी, मधेशी दल, राजावादी सबै थिए। ६ वर्षसम्म माथापच्छी पछि सम्झौतामा आएको दस्तावेज हो। तर, सम्झौताको दस्तावेज हुँदा पनि कांग्रेसले लोकतन्त्रका मूल्य मान्यताहरूलाई संविधानमा समेटेको छ। विश्वमा अरु व्यवस्था होइन लोकतन्त्र नै उत्तम व्यवस्था हो भन्ने कुरामा निष्कर्षमा पुगेको छ। हाम्रो पनि संविधानले लोकतन्त्रको ग्यारेन्टी गरेको छ। जनताको माग अनुसार समावेशिताका सिद्धान्त समेत अवलम्बन गरेको छ। त्यसैले यो संविधानलाई कार्यान्वयन गर्न आवश्यक छ। नेपालको वास्तविकतामा आधारित विकासलाई सोच्न सक्नुपर्छ।

गठबन्धन अहिलेको व्यवहारिक आवश्यकता हो। कांग्रेसले माओवादीसँग गठबन्धन नगर्ने हो भने एमाले र माओवादीबीच गठबन्धन हुन्छ। हामीले नगरे अर्कोले गर्छ। कांग्रेसले पहिले आफूलाई टिकाउनुपर्छ। पहिले कांग्रेसले आफूलाई सम्हाल्नुपर्छ, यसका लागि गठबन्धन आवश्यक छ। कांग्रेसले एक्लै लडेर जित्ने अवस्था छैन्। माओवादीसँग गठबन्धन गर्नु हुँदैन भने के हामीले आफैं लडेर जित्ने पार्टी बनायौँ त ? हामीले अहिलेसम्म जति काम गरेका छौ, त्यो कामबाट जनता सन्तुष्ट भएर ५१ प्रतिशत भोट हामीले बनाएका छौ ? ५१ प्रतिशत भोटको कमान्ड गर्न सक्ने कांग्रेस छ त ? त्यसैले गठबन्धन गर्नै पर्ने आवश्यकता छ। नेपालको राजनीतिमा खाली प्रयोग मात्रै गरिरहन हुँदैन। राजनीतिक स्थिरता नभएकाले विकास हुन सकेको छैन्। संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थिरता कायम गरेर विकासतर्फ अघि बढ्नुपर्छ।

नैतिक शक्ति नहुँदा सुशासन दिन सकिदैन। नैतिक शक्ति जोसँग हुन्छ उसले मात्र भ्रष्टाचार, विसङ्गति, बेथितिका विरुद्ध आक्रामक हुन सक्छ। नेपालको दुर्भाग्य नै सुशासन दिनु पर्नेहरू नै कुशासनमा डुबेका छन्।

म तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावी मैदानमा छु। देशमा नैतिकता र सुशासनको खडेरी परेको छ। यसमा केही भूमिका खेल्न चाहेको हुँ मैले। यसका लागि जनताको म्यान्डेट आवश्यक परेकोले म जनताको म्यान्डेड लिन तनहुँबाट उम्मेदवार बन्न चाहेको हो मर्नु भन्दा अगाडि केही गरेर मरौँ भन्ने इच्छा छ। केही गर्न सकिन्छ कि भनेर चुनाव लड्न खोजेको छु।

आसन्न चुनावमा सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह हुनुपर्छ । मैले पहिलेदेखि अरु पार्टीहरूलाई पनि भनेको छु। नेपाली कांग्रेस एउटा ठूलो पार्टी हो। १६५ वटा निर्वाचन क्षेत्रमा कुनै न कुनै रुपमा रूख चिन्ह त्यहाँ हुनुपर्छ। चाहे त्यो संघीय सांसदको लागि होस् वा प्रदेश संसद्को लागि होस्। त्यसो भएपछि सबैजना भोट हाल्न जान्छन्। कांग्रेसले आफ्नो समानुपातिकको भोट जोगाउनका लागि र गठबन्धनलाई बलियो बनाउन र भोट साटासाट गर्नका लागि पनि सबै निर्वाचन क्षेत्रमा रूख चुनाव चिन्ह हुनुपर्छ।

हामी भारत र चीन दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा छौ। हामीले भारत र चीनसँग प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा छैनौ। त्यसैले उनीहरूसँगको प्रतिष्पर्धालाई हामीले छल्न पर्छ। हामीले भारत र चीनसँग प्रतिष्पर्धा नहुने उत्पादन गरेर हामीले निर्यातलाई बढाउनुपर्छ। अन्यथा हामी आयात मात्र गर्ने अवस्थामा पुग्छौ। हामीले के के चीजहरू निर्यात गर्न सक्छौ। ती चीजहरूको निर्यातबाट विदेशी मुद्राको सञ्चय कसरी गर्न सकिन्छ भन्ने कुरालाई हामीले सोच्न पर्छ।

नेपाललाई समृद्ध बनाउनका लागि सबैभन्दा आवश्यक कुरा सुशासन हो। सुशासन पक्षमा सबैले वकालत गर्न जरुरी भएको छ। सुशासन दिनका लागि नैतिक शक्ति चाहिन्छ। नैतिक शक्ति नहुँदा सुशासन दिन सकिदैन। नैतिक शक्ति जोसँग हुन्छ उसले मात्र भ्रष्टाचार, विसङ्गति, बेथितिका विरुद्ध आक्रामक हुन सक्छ। नेपालको दुर्भाग्य नै सुशासन दिनु पर्नेहरू नै कुशासनमा डुबेका छन्। यसो हुँदा सुशासन नारामा मात्र सीमित हुन्छ। फेरि सत्ता र शक्तिमा यस्तै यस्ताको बहुमत र उनीहरू नै हावी हुने गरेको छ। आफूलाई विकृत हुनबाट जोगाएर देशलाई बनाउँछु भन्नेहरू पाखा परेका छन्। नेपालको राजनीतिमा यो सबैभन्दा ठूलो विडम्बना नै हो।

राष्ट्रका समस्यालाई हल गरेर मुलुकलाई अगाडि बढाउनका लागि लोकप्रिय नारा र भावनात्मक कुराहरूका पछाडि लागेर मात्र सम्भव छैन्। लोकप्रिय नाराका पछि त हामी सबै लाग्छौ। तर यथार्थमा यो कति व्यवहारिक हुन्छ। यो हामीले सोचेका हुँदैनौ। लोकप्रिय नारा भन्दा व्यवहारिक सोच आवश्यक छ।

मिडियाले दुर्घटना पनि गराउँछ। मिडियाले मिस गाइड गर्‍यो भने दुर्घटना गराउँछ। अहिले मिडियाभन्दा पनि सोसल मिडिया बढि शक्तिशाली देखिन्छ। सोसल मिडियाले वास्तविकता एकातिर मान्छेको दिमाग अर्कै तिर मोडिदिन्छ। मिडिया सचेत नहुँदा रितिक रोशन काण्ड धेरै हुन्छन्। त्यो त एउटा उदाहरण हो। हल्लै हल्लामा यस्ता घटना भएका छन्। हल्लै हल्लाले मुलुक दुर्घटनामा पुग्नबाट जोगाउनका लागि मिडियाको भूमिका ठूलो छ। देश सम्हाल्ने जिम्मा मिडियाको हातमा छ। मात्रै सूचना दिएर मात्र मिडियाले हुँदैन। मिडियालाई पपुलर बनाउने मात्र जिम्मेवारीबाट अलग हुनुहुँदैन। आफ्नो मिडियालाई पपुलर बनाउने भन्दा पनि आफ्नो जिम्मेवारी बहन गरेर मुलुकलाई जोगाउन लाग्नुपर्छ।

अहिले मुलुक कुन अवस्थामा छन्। पृथ्वीनारायण शाहले त्यो बेलामा नै नेपाल दुई ढुंगा बीचको तरुल भनेका थिए। अहिले त्यो भन्दा डरलाग्दो अवस्थामा हामी छौ। भारत र चीन दुई ठूला शक्ति त छन् नै। विश्वका शक्ति राष्ट्रहरूको लडाइमा पनि कसरी जोगिने भन्ने चुनौती पनि छ। विश्वका शक्ति राष्ट्रहरू केही न केही देखाएर हामीलाई आफ्नो पक्षमा तान्ने पक्षमा देखिन्छन्। उनीहरू हामीलाई कुनै न कुनै बहानामा प्रयोग गर्ने खतरा छ। यतिबेला हामी कसरी जोगिने भन्ने छ। यो अवस्थामा पनि देशलाई जोगाउन मिडिया सचेत हुनुपर्‍यो। खबरदारी गर्न पर्यो।

भरखरै कुलमान घिसिङले एउटा विज्ञप्ति निकाल्नुभयो। उहाँले जलविद्युत आयोजना बनाउँदा नै महङ्गो हुन थाल्यो। हामीले जे बेच्ने हो त्यही महङ्गो भएपछि हामीले के गर्ने ? विद्युत आयोजना निर्माणको लागत नै महङ्गो भएपछि महङ्गोमा कसले किन्ने रु तनहुँमा नै भएको हाइड्रो छ। तनहुँका जनतालाई मैले यस्तो आयोजना रोकौँ भन्दा आयोजना आउन दिउँ भनेर भने। जग्गा अतिक्रमण लगायतका काम गर्दा पनि सहज बनाउन पर्यो। जग्गाको मूल्य दिने बेलामा वास्तविक मूल्य दिउँ। हामी राजनीतिक दलले भने भनौँ, वास्तविक मूल्य लिएर यस्ता आयोजना बनाऔँ। राजनीतिक पार्टीका नेता कार्यकर्ताहरूले पनि यस्ता काममा नागरिकलाई नउचालौँ। यस्ता आयोजना बनेपछि हामीलाई दीर्घकालीन फाइदा हुन्छ भनेर। राज्यले पनि अलि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आवश्यक छ। यस्ता आयोजना बनाउँदा पनि सुशासन आवश्यक छ। सुशासन भएपछि यस्ता आयोजना सस्तोमा बन्छन्। सुशासनलाई प्राथामिकतामा राख्न सकियो भने मुलुकको आर्थिक समृद्धि प्राप्त हुन्छ। आर्थिक समृद्धिको बाटो समातियौ भने मात्र स्वतन्त्रता र राष्ट्रियता जोगिन्छ।

  • काठमाडौँमा सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राख्नुभएको धारणाको सम्पादित अंश-
  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?