पुन:निर्माण सुरु भएन त्रियुगा पुल

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५, सिवाईस्थित त्रियुगा पुल अझै पुनर्निर्माण हुन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसमेतले बेवास्ता गरेपछि चौदण्डीगढी नगरपालिका-५, सिवाईस्थित त्रियुगा नगरपालिकाको केन्द्र बेल्टार पुग्ने सडकअन्तर्गत सिवाई र बेल्हा जोड्ने गरी १३ वर्षअघि २०६६ सालमा निर्माण सुरु भएको सो पक्की पुल २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीका कारण पिललर भासिएर क्षतिग्रस्त भएको थियो ।

निर्माण सम्पन्न हुनैलाग्दा भत्किएको पुल दुई वर्ष बितिसक्दा पनि हालसम्म पुनर्निर्माणको कुनै सुरसार छैन । पुल क्षतिग्रस्त भएको यति धेरै समय बितिसक्दा पनि पुनर्निर्माणको काम सुरु हुन नसक्नु मन्त्रालय र विभागकै बेवास्ता भएको चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाले बताउनुभयो ।

नेपाल सरकारको करिब ११ करोड २७ लाख रुपियाँ लागत रहेको १२ स्पान ३०७ मिटर लम्बाइको उक्त पुलमा साढे पाँच मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको छ । सुरुमा नौ करोड ७६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको तर मूल्य समायोजनका कारण लागत रकम बढ्दै जाँदा ११ करोड २७ लाख रुपियाँ पुगे पनि पुलको अबस्था भने जस्ताको तस्तै छ ।

निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको उक्त पुलको पिलर नै भासिनुको कारण के हो भनी अध्ययन अनुसन्धानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिक टोली गठन गरेको थियो । पुल भत्किएको १५ दिन नबित्दै मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण अनुसन्धान कार्यालय दमकका सुपरिन्टेन्डेन्ट इन्जिनियर नवीनमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय प्राविधिक अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो ।

प्राविधिक टोलीले अध्ययन गरेको लामो समय बितेपछि पनि काम सुरु नभएपछि वर्षामा थप सास्ती खेप्नुपर्ने चिन्ता स्थानीय बासिन्दामा बढेको स्थानीय बासिन्दा धनपति आचार्यले बताउनुभयो ।

कुल ३०७ मिटर लम्बाइमा १२ वटा पिल्लर र ११ वटा स्ल्याब रहेको सो पुलको दक्षिण पश्चिम क्षेत्र सिवाईतर्फको दोस्रो र तेस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको छ । सिवाईतर्फको दोस्रो र तेस्रो पिल्लर भासिएपछि एउटा स्ल्याब नदीमा झरेर क्षतिग्रस्त भएको छ भने अर्को स्ल्याबमा पनि काम नलाग्ने गरी क्षति पुगेको छ । पुलको सुपर स्ट्रक्चर राम्रो भए पनि जमिनमुनि समस्या भएकै कारण यस्तो भएको हुन सक्ने गाईघाट-दिक्तेल सडक आयोजना कार्यालयका डिभिजन प्रमुख इन्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?