जुम्लामा यस वर्ष स्याउबाट करिब ५० करोड भित्रिने आंकलन

फाइल तस्वीर

Read Time = 4 mins

जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा यस वर्ष स्याउको आम्दानी बढ्ने जनाएको छ ।

गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झन्डै १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आंकलन गरेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘स्याउ निर्यातबाट जुम्लामा झन्डै ५० करोड बढी आम्दानी हुने भएको छ ।’ जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ ।

गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका-५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गर्नुभएकाे छ । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकाले रोजगारी खोज्न कालापहाड जानुपर्ने अवस्था नरहेको धिताल बताउँनुहुन्छ । ‘आयातितभन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ। तर व्यवस्थापकीय कमजोरीले बजारीकरणमा समस्या देखिन्छ,’ उहाँले भन्नुभयाे ।

ग्रेडिङ लेवलिङ प्याकेजिङ जस्ता कुरामा सरकारी तवरबाट ध्यान पुर्‍याउन जरुरी रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँँदै पनि मूल्य पाउन सकेको छैन । कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरणलगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्ने आवश्यक छ ।’

जुम्लामा चार हजार एक सय २० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको कृषि विकास कार्यालय जुम्लाका निमिक्त प्रमुख गणेश अधिकारीले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘जसबाट करिब ५० करोड आर्थिक भित्रिने आंकलन छ ।’ उहाँका अनुसार पालिकामध्ये सबैभन्दा बढी चार हजार मेट्रिक टन गुठिचौरमा फलेको छ ।

समयमै पानी पर्दा र हावापानी अनुकूल हुँदा गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादन बढेको हो । यस वर्षको स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको निमित्त प्रमुख अधिकारीले बताउँनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?