भरतपुरमा पनि विद्युत् वितरण लाइन भूमिगत सुरु

Read Time = 6 mins

चितवन । नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्रअन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई पनि भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भरतपुरका मुख्य शहरी क्षेत्रमा ३३ केभी लाइन ३६ किलोमिटर, ११ केभी लाइन ७५ किलोमिटर, चार सय भोल्ट लाइन ७० किलोमिटर भूमिगत गरिनेछ । साथै २६ किलोमिटर भूमिगत अप्टिकल फाइबर बिछ्याउने र हाल सञ्चालनमा रहेका ट्रान्सफर्मरहरूको क्षमता बढाउने तथा नयाँ थपिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित गरिरहेको छ । सोही कार्यक्रम कास्कीको पोखरा र भरतपुर वितरण केन्द्रअन्तर्गत पर्ने मुख्य शहरी क्षेत्रमा विस्तार गरेको हो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले विद्युतीय संरचना भूमिगत कार्यले स्मार्ट र सुन्दर भरतपुर स्थापनाको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । तार भूमिगत गर्ने कार्य जनताको सुरक्षा र शहरी क्षेत्रको सौन्दर्यसँग जोडिएकाले सफल बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

पूर्वप्रधानमन्त्री दाहाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शनिबार निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरणले भरतपुरको सौन्दर्यलाई बढाएर स्मार्ट सिटीका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित, भरपर्दो हुने र शहरी सौन्दर्य कायम राख्नसमेत मद्दत पुग्ने बताउनुभयो ।

विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकले अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्नसक्ने उहाँको भनाइ थियो । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना सुरु भएको हो ।

आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट भारतसँग एक करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सोमध्ये भरतपुरमा क्षेत्रको कामका लागि ७९ लाख आठ हजार डलर र २२ करोड २३ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आयोजनाको काम दुई वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल फागुन पहिलो साता महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभएको थियो ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरूमा ११ हजार भोल्टेज र चार सय भोल्टेजको भूमिगत लाइन निर्माण सुरु गरिएको हो । त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटीलगायतका स्थानमा पनि तार भूमिगत कार्य सुरु गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?