बाराबङ्की बस दुर्घटनाः शोकमग्न छ बिनौना गाउँ

हिमालय टाइम्स
Read Time = 3 mins

बाँके । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना गाउँ शोकमा डुबेको छ ।

सीमावर्ती भारतीय सहर रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि. ९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबङ्कीमा दुर्घटना हुँदा राप्ती सोनारी-५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी-५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिङ्गो बिनौना गाउँ शोकमग्न भएको वडाध्यक्ष झगरु थारुले बताउनुभयो ।

“गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ”, वडाध्यक्ष थारुले भन्नुभयो, “शोकमग्न आफन्तजन तथा गाउँवासी दाहसंस्कारका लागि आइपुग्नुभएको छ ।” प्रेम र शीतल यसअघि पटक-पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए । मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनावासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताउनुभयो ।

मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरुको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?