चार खेलाडीसहित १६ जना सम्मानित

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९औं वार्षिकोत्सवका अवसरमा चार खेलाडीसहित १६ जना खेलकुद क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको छ । परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा एवं युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको समुपस्थितिमा परिषद्ले उत्कृष्ट स्थानीय तह सम्मानका साथै उत्कृष्ट (जुनियर र सिनियर) वर्ष खेलाडी तथा उत्कृष्ट खेलकुद पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहनुभएको छ । यस्तै राखेपको प्रशासन र प्राविधिकतर्फ ६ कर्मचारी पुरस्कृत हुनुभयो ।

सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बास्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्याष्टिककी सजनी मानन्धर पुरस्कृत हुनुभयो ।

राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित हुनुभयो । खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य र राससकी मुनाकुमारी कार्की सम्मानित हुनुभयो । उहाँहरूलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।

समारोहमा उत्कृष्ट खेल सामग्री उत्पादन गर्ने कामारु ट्रेडिङ प्रालि र उत्कृष्ट राष्ट्रिय खेल संघ घोषित भएको ट्रायथलन खेल संघलाई सम्मान गरिएको छ । सोही समारोहमा राखेपले २५ हजार राशिको सर्वाेत्कृष्ट परिषद् सेवा पुरस्कार, १५ हजार राशिको उत्कृष्ट परिषद् सेवा पुरस्कार, १० हजार रुपैयाँ राशिको परिषद् सेवा पुरस्कार तथा २५ वर्ष सेवा प्रदान गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्ले चितवनको भरतपुर महानगरपालिकालाई ७५३ मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको छ । नेपालका स्थानीय तहमध्ये खेलकुदका क्षेत्रमा सबैभन्दा धेरै बजेट विनियोजन गरेकाले भरतपुरलाई उत्कृष्ट महानगर घोषित गरिएको राखेपले जनाएको छ ।
गएको वर्ष उक्त महानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नौ करोड ४७ लाख रकम विनियोजन गरेको जनाइएको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।

सम्मान समारोहमा भिडियो सन्देशमार्फत् महानगरप्रमुख रेणु दाहालले भरतपुरलाई खेल पर्यटन सिटीका रूपमा विकास गर्ने सोच आफ्नो रहेको बताउनुभयो । उहाँले एक वडा एक खेलग्राम, एक विद्यालय एक खेलमैदान, नगरस्तरीय खेलमैदान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमैदानलगायत परियोजना अघि बढाएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली खेलकुद क्षेत्रमा निखारता ल्याउँदै खेलाडीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा खरोरूपमा उत्रन सक्ने बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले पछिल्लो समयमा खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सहभागी भई मुलुकको नाम उच्च बनाउँदै गएको स्मरण गर्दै अझै सफलता प्राप्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

‘खासगरी केही वर्षयता नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर नेपालको नाम उँचो बनाउँदै विजयको माला पहि¥याएर फर्किनु हामी सबैका लागि गौरवको विषय हो, यसका लागि सम्पूर्ण खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अझै उच्च सफलता प्राप्त गर्दै नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै लैजानेछ भन्ने अपेक्षा छ, खेलकुदमा अझै निखार ल्याउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा खरो उत्रनसक्ने बनाउनु आजको आवश्यकता हो, यस कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउन चाहन्छु ।’

उक्त समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राज्यले ओलम्पिकमा स्वर्णपदक विजेता खेलाडीलाई एक करोड ३० लाख पुरस्कार दिने घोषणाका लागि राज्यले कानुनी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री गहतराजले भन्नुभयो, ‘खेलाडीले अब खेल खेल्दा खालिहात होइन्छ कि भनेर सोच्नुपर्ने अवस्था छैन, राष्ट्रका लागि खेल खेल्ने उनीहरूलाई राज्यले उचित सम्मान र पुरस्कारको प्रबन्ध गर्न लागेको छ, आगामी मन्त्रिपरिषद्बाट पास हुँदैछ ।’ उहाँले आगामी एशियन खेलमा स्वर्णपदक जित्ने खेलाडीले ३०/३२ लाख पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो ।

केही दिनमा मन्त्रिपरिषद्बाट पारित हुन लागेको राष्ट्रिय खेलकुद परिषद्को नियमावलीमा खेलाडीलाई उक्त पुरस्कार दिने व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ‘उत्कृष्ट खेल खेलेमा कानुनीरूपमा नै राज्यबाट सम्मान र पुरस्कार प्राप्त गर्ने आधार तयार भएको छ,’ समारोहमा उहाँले थप्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?