बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । बेलायातको नयाँ प्रधानमन्त्री लिज ट्रस बन्नुहुने भएको छ । बेलायतको सत्तारूढ दल कन्जरवेटिभ पार्टीको नेतामा सोमबार जित हासिल गरेसँगै उहाँ बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो । ट्रस दलको नेता चुनिएपछि पार्टी नेतृत्वका लागि लामो समय चलेको होडबाजी सकिएको छ । दलको नेतृत्वका लागि पूर्व-अर्थमन्त्री रिशी सुनाक र विदेशमन्त्री रहनुभएकी ट्रसबीच भएको तीव्र प्रतिस्पर्धामा ट्रसले बाजी मार्नुभएको हो । नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले सोमबार दिउँसो ट्रस नेता चुनिएको घोषणा गर्नुभएको थियो । ट्रसले ८१ हजार ३२६ मत प्राप्त गर्नुभयो भने सुनाकले ६० हजार ३९९ मत प्राप्त गर्नुभएको थियो ।

वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनले गत जुलाईमा पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । सन् २०१९ को आम निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बन्नुभएका जोन्सन जुलाई मध्यतिर कोभिड नियम उल्लंघनलगायत विभिन्न विवादमा तानिनुभएको थियो । उहाँको कार्यशैलीविरुद्ध क्याबिनेट मन्त्रीहरूले विद्रोह गरेपछि उहाँ राजीनामा घोषणा गर्न बाध्य हुनुभएको थियो ।

जोन्सनले मंगलबार टेन डाउनिङ स्ट्रिटबाट बिदा लिने हुनुभएको छ । उहाँ मंगलबार स्कटल्याण्ड जाने र महारानी एलिजाबेथसँग भेट गरी औपचारिक रूपमा राजीनामा बुझाउने बेलायती समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ट्रसले पनि स्कटल्याण्डमै महारानीसँग भेट गरेर सरकार गठनको अनुमति लिने बताइएको छ । ९६ वर्षीया महारानी एलिजाबेथ अहिले समरमा बालमोरल क्यासल स्कटल्याण्डमा रहेकाले नयाँ प्रधानमन्त्रीले बकिङहम दरबारको सट्टा त्यता गएर नियुक्ति लिने जनाइएको छ ।

ट्रसले अक्सफोर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र अध्ययन गरेर विद्यार्थी राजनीतिबाट राजनीति यात्रा सुरु गर्नुभएको थियो । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री हुनुहुने भएको छ । उहाँको पूरा नाम मेरी एलिजाबेथ ट्रस हो । उहाँका श्रीमान ह्यु ओ लियरी लेखापाल हुनुहुन्छ भने उहाँहरूका दुई छोरी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?