भेरी अस्पतालका बिरामीलाई रेडक्रसको निःशुल्क रगत

हिमालय टाइम्स
Read Time = 3 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीहरूले निःशुल्क रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको हो । उक्त अभियानको एक कार्यक्रमबीच भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईले उद्घाटन गर्नुभयो । यसअघि अस्पतालमा उपचार गराइरहेका बिरामीहरूले रगत आफैँ खरिद गर्नुपर्ने बाध्यता थियो । अब भने बिरामीले रगत निःशुल्क पाउने व्यवस्था मिलाइएको हो ।

रेडक्रसले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई लक्षित गरी यस्तो कार्यक्रमको शुभारम्भ गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले रक्तसञ्चार केन्द्रका लागि आवश्यक रहेकोमा जोड दिनुभएको थियो । उहाँका अनुसार त्यसको लागि सुविधासम्पन्न भवन निर्माणका लागि प्रक्रिया अगाडि बढिरहेको छ । उहाँले भन्नुभयो, ‘भेरी अस्पतालमा दुईवटा भवन छन् । रक्त सञ्चार सेवा जीर्ण भवनमा छ । यो राम्रो होइन । मैले बजेट विनियोजन भइसकेको छ ।’ बाँके क्षेत्र नम्बर २ को सांसद र नेपाल सरकारको मन्त्री भएको हैसियतले यहाँको विकास गर्ने आफ्नो दायित्व पनि भएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्धिन राईले रेडक्रसले सुरु गरेको निःशुल्क रगत वितरण कार्यले गरिब तथा असहाय बिरामीलाई राहत मिल्ने बताउनुभयो । रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रसले सुरु गरेको काम राम्रो भएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारसँगको सम्झौताअनुसार रेडक्रसले बिरामीलाई निःशुल्क रगत वितरण सुरु गरेको हो । यसका लागि लुम्बिनी प्रदेश सरकारले रेडक्रसलाई आवश्यक बजेट व्यवस्थापन गरिदिएको रेडक्रस बाँकेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?