तान बुन्ने पेसा संकटमा

हिमालय टाइम्स
Read Time = 5 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ र मानेखर्कमा कुनै समय प्रत्येक घरधुरीमा श्यामा (तान) बुन्ने गरिन्थ्यो । अहिले दुई/चार घरमा मात्र ५५ वर्ष उमेर पार गरेका महिलाहरूले श्यामा बुनेर आफ्नो दैनिकी चलाउने गरेका छन् । तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर, अहिलेका पुस्ताहरूले बुन्न छाडेपछि श्यामा मुस्किलले मात्र पाउन थालेको छ ।

मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले श्यामा बुनेर दैनिक २२ सय कमाइ गर्नुहुन्छ । १६ वर्षको उमेर हुँदा श्यामा (तान) बुन्न थाल्नुभएकी उहाँले अहिलेसम्म निरन्तर यही कामबाट घर खर्च टार्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘अहिले हामी तीन/चारजना महिलाहरूले मात्र तान बुन्ने गरेका छौँ । बजारमा यसको माग धेरै भए पनि हामीले पु¥याउन सकेका छैनौँ । बुन्नुभन्दा अगाडि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’

सुरुवातमा बुनेर बेच्दा यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि २२ सय रुपैयाँसम्म पर्छ । उनीहरूलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर, हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरू घरमै आएको ग्याल्मु लामाले बताउनुभयो ।

आम्दानीको राम्रो स्रोत
एकपल्टको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एकजनाले एक वा दुई वटासम्म बुन्न सकिन्छ । १२ वटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने उद्यमी बताउँछन् । त्यस्तै, यस कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन पनि प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउनुहुन्छ । तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरू सबै गाउँघरमै पाउने काठ, बाँस, मुडाबाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उहाँको भनाइ छ ।

७३ वर्षीय नोर्चिन लामा पनि लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै पहिलाभन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो रहेको बताउनुहुन्छ । ‘यसको माग पनि राम्रो छ । तर, अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ । बल हुन्जेलसम्म तान बुनेर जीविकोपार्जन गरेँ । तर, अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उहाँ भन्नुहुन्छ, ‘हामी वृद्व भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ ।’

तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथासम्म बेच्न गएको उहाँले बताउनुभयो । पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रामा प्रयोग गर्ने हुँदा घरमै अर्डर गर्न आउँथे । यहाँ बनेर तयार गरिएको श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेका थिए । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आम्दानीसँगै श्यामा व्यवसायको संरक्षण हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?