अज्ञात रोगले मनाङका चौरी बिरामी पर्न थाले

हिमालय टाइम्स
Read Time = 6 mins

मनाङ । हिमाली जिल्ला मनाङका चौरीगोठमा अज्ञात रोग देखिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका चौरी खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ ।

केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी मरेको थाहा पाउनासाथ स्थलगतरूपमा नै प्राविधिक टोलीसहित स्थलगत उपचार थालिएको जानकारी दिनुभयो । ‘ङावल क्षेत्रको खर्कमा चौरीमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरूले भ्यागुते रोगको आशङ्का गरेका छन् । चौरीको रगत तथा बोनम्यारोको प्राप्त नमूना परीक्षणबाट भ्यागुते रोगको पुष्टि हुन बाँकी नै छ’, उहाँले भन्नुभयो ।

समुद्र सतहदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको हिमताल क्षेत्रमा चरन खर्कमा रहेका १० चौरी मरेको केन्द्रले जनाएको छ । ‘भ्राकामा चौरी मर्ने क्रम रोकिएको छ । तर ङावल क्षेत्रमा अझै चौरी बिरामी रहेकाले पशु विज्ञको निगरानी जारी रहेको छ’, केन्द्र प्रमुख कुसुमले भन्नुभयो ।

जिल्लामा पूर्णखोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीमा देखिएको समस्याले खोप अभियानको सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । जिल्लाका अन्य क्षेत्रका खर्कमा रहेका चौरीमा भने यो समस्या नदेखिएको जनाइएको छ । यस रोगबाट चौरी भएमा खोप अभियान सञ्चालन गरिने विज्ञ केन्द्रले जनाएको छ ।

भ्राकाको आइसलेकस्थित १५ पशु बिरामी परेकामध्ये १० मरेको जनाइएको छ । त्यस्तै मनाङ ङिस्याङ गाउँपालिका–८ टङ्कीस्थित प्रिप्चे चरन क्षेत्र चार हजार तीन सय मिटर उचाइमा रहेका बिरामी आठ चौरी मरेको केन्द्रका प्रमुख कुसुमले जानकारी दिनुभयो । हालसम्म ४२ चौरी बिरामी परेकामध्ये ३० मरेको उहाँले बताउनुभयो ।

रोग निदानको लागि प्रादेशिक पशुरोग प्रयोगशाला पोखरा पठाइएको केन्द्रले जनाएको छ । प्रयोगशालाका प्रमुख केदारराज पाण्डेका अनुसार भ्यागुते रोग नै हो भन्ने पुष्टि भने भएको छैन । ‘चौरीको गोबर परीक्षण गर्न नमूना आउन नसकेका कारण के भएको हो भन्ने पुष्टि हुनसकेको छैन’, उहाँले भन्नुभयो, ‘हिमाली चौरीमा भाद्र–आश्विनमा परजीवी जुकाको समस्या देखिने सम्भावना रहन्छ । यसले गर्दा पनि समस्या आएको हुनसक्छ ।’

रोगको प्रारम्भिक लक्षणअनुसार भ्यागुते रोगको आशंका गरेअनुसार सो रोगविरुद्ध खोप कार्य पूर्ण खोप कार्यक्रमबाट काम भइरहेको र त्यो भ्यागुते रोग नभएको पशुपक्षी रोग अन्वेषण पोखरा पठाएको केन्द्रले जनाएको छ । पशुपक्षी रोग अन्वेषण पोखराले रोग निदानका लागि नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाएको र नमूना परीक्षणको नतिजा बाँकी रहेको जनाइएको छ ।

सो रोगको आउटब्रेक अध्ययन गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले यहीभदौ ४ गतेदेखि प्राविधिक टोली पठाएको थियो । पशु प्राविधिक टोलीले दिएको विवरणअनुसार विस्तृतरूपमा भेटेरेनरी एपिडीमियोलोजिकल अध्ययन सर्वेक्षण गर्न आवश्यक देखिएको केन्द्रले जनाएको छ ।

ती बिरामी चौरीमा एक्कासी एक सय छ डिग्री ज्वरो आउने, अत्यधिक ¥याल काढ्ने, श्वास फेर्न गाह्रो हुने, खान मन नगर्ने, घाँटी सुनिने, मुख खोलेर श्वास फेर्न गाह्रो भएर आवाज निकाली कराउने र पशु लक्षण देखाएको दुई घण्टादेखि दुई दिनभित्र मर्ने गरेको पशु विज्ञको भनाइ छ ।

उहाँका अनुसार दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा रोग देखापरेको छ । ती कलिला चौरीका मूल्य रु ४० हजार प्रतिगोटा र वयस्क एउटैको रु ९० हजारदेखि रु एक लाख २० हजारसम्म पर्ने गर्दछ । यसरी अज्ञात रोगबाट चौरी मरेपछि किसान चिन्तित भएका छन् ।

  • रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?