पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा माग

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ ।

आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरिएको हो ।

बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताउनुभएकाे हाे ।

‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन् । दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ,’ उहाँले बैठकमा भन्नुभयाे, ‘उहाँले (मन्त्री श्रेष्ठ) सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’

आफूहरु शासक नभएर सेवक रहेको स्थापित गर्न पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उहाँको माग छ ।

‘हामीहरु सेवक हौँ, शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र एकजना मन्त्रीको कुरामात्र होइन, विधिको शासन, विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा श्रमिकलाई पाँच दिन थुनामा राख्ने पनि हामी, यो असाध्यै भएन । यसप्रति सरकारको ध्यान तुरुन्तै जाओस् । मन्त्रीले माफी माग्नुपर्छ भन्ने पनि माग गर्छु,’ उहाँले भन्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?