लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न अदालतको आदेश

Read Time = 7 mins

रुपन्देही । प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीले आह्वान गरेको लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया यथास्थितीमा राख्न उच्च अदालतले आदेश दिएको छ ।

गत साउन २५ गते उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएकोमा आज बसेको इजलासले यथास्थितीमा राख्न आदेश दिएको हो ।
उच्च अदालतबाट यथास्थितीमा राख्ने आदेश आएसँगै भवन निर्माणको ठेक्का प्रक्रिया दोस्रो पटक रोकिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको हुन सक्ने भन्दै दायर गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुनुवाई गर्दै ठेक्का प्रक्रिया यथास्थितीमा राख्न आदेश दिएको छ ।

निर्माण व्यवसायी संघका लुम्बिनी प्रदेश समितिका पूर्व अध्यक्ष समेत रहेका निर्माण व्यवसायी रानाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए। अदालतले भदौ १ गते पेसी तोकेर त्यसअघि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
यसअघि नै सार्वजनिक खरिद अनुगमन कार्यालयले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्कामा ‘सेटिङ’ भएको भन्दै ठेक्काका मापदण्डहरु सच्याउन निर्देशन दिएको थियो।
अनुगमन कार्यालयको निर्देशनको बेवास्ता गर्दै प्राधिकरणले प्रक्रिया अगाडि बढाएपछि निर्माण व्यवसायीको तर्फबाट अदालतमा रिट दर्ता गरिएको थियो । टेण्डरका सर्तहरूका आधारमा निश्चित निर्माण व्यवसायीले भवनको ठेक्का पाउने गरी अस्पतालको टेण्डर आह्वान विषयलाई सर्वत्र आलोचना भएसँगै अदालतले तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो।

प्रदेश विकास पूर्वाधार प्राधिकरणले असार ९ गते कर सहित ६ अर्ब ७० करोड लागतमा भवन बनाउन आह्वान गरेको टेण्डर निश्चित निर्माण व्यवसायीलाई दिनेगरी प्रावधान राखिएको र ‘सेटिङ’मा ठेक्का लगाइएको भन्दै निर्माण व्यवसायी कम्पनीले विरोध गरेका थिए।
प्राधिकरणले पहिलो बोलपत्र आह्वान ८ फागुन ०७८ मा गरेको थियो । निर्धारित कम्पनीले मात्रै ठेक्का प्रक्रियामा भाग लिन सक्ने प्रावधान बोलपत्रमा देखिएपछि अनुगमन कार्यालयले प्राधिकरणको नाममा त्यसवेला पनि पत्र काटेको थियो ।
सोही पत्रलाई आधार मान्दै प्राधिकरणका तत्कालीन सिइओ अनन्तराज घिमिरेले ठेक्कामा मुख्यमन्त्रीको संलग्नताको आशंका उठाउँदै राजीनामा दिएका थिए । त्यसपछि नियुक्त भएका प्राधिकरणका सिइओ छविराज पोखरेलले भवन निर्माणका लागि दोस्रोपटकको बोलपत्र आह्वान गरेका हुन् ।
प्रदेश विकास पूर्वाधार प्राधिकरणले असार ९ गते भवन निर्माणका ६ अर्ब ७० करोड ९कर सहित लागतमा भवन बनाउन आह्वान गरिएको यो टेन्डर निश्चित निर्माण व्यवसायीलाई दिने गरी प्रावधान राखिएको र ‘सेटिङ’मा ठेक्का लगाइएको भन्दै निर्माण व्यवसायी कम्पनीले शुरुदेखि नै विरोध गर्दै आएका छन्।

घुमाउरो ढङ्गले अघिल्लो पटककै शैलीमा मिलेमतो भएको भनिएका शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये कुनै एकले मात्र पाउने गरी ठेकेदारको योग्यतामा सर्त राखिएको उनीहरूको दावी छ। ती दुई कम्पनीले मात्र टेन्डर हाल्न सक्ने गरी मापदण्ड तोकिएको उनीहरूको दावी छ।
उच्च अदालत बुटवल इजलासमा न्यायाधीशद्वय कृष्णबहादुर थापा र रमेशराज पोखरेलको इजलासले बोलपत्रको मापदण्डमा समेत फरक पर्ने गरी पटक(पटक बोलपत्र संशोधन गरेको देखिएको र यसबारे सार्वजनिक खरिद अनुगमन कार्यालयबाट समेत प्राधिकरणलाई दुई पटक पत्र पठाएर ध्यानाकर्षण गराएको भन्दै सुविधा र सन्तुलनको दृष्टिबाट अल्पकालीन अन्तरिम आदेशलाई निरन्तार दिने आदेश सुनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काका ३ शर्तहरु संशोधन गर्न निर्देशन दिएको थियो । १ भदौमा निर्देशनात्मक पत्र लेख्दै १९ साउनमा पीपीएमओले लखेको पत्रमा उठाइएका विषयहरुमा प्राधिकरणले दिएको जवाफ चित्त बुझ्दो नभएको ठहर गरेको थियो ।

प्रदेश योजना आयोगका तीन जना सदस्यले मात्र सिफारिसमा हस्ताक्षर गरेका आधारमा बोलपत्र आह्वान गरिएको छ ।
आयोगमा पहिलेदेखि नै अस्पतालको पुनः डिपिआर बनाउनुपर्ने, पहिलेकै लागतमा प्रश्न उठेकाले लागत अनुमानमा अध्यायन गर्नुपर्ने भन्दै कुरा उठाउादै आएका आयोगका सदस्य डा दामोदर भुसालले सिफारिसमा हस्ताक्षर गरेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?