साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई/दुई गोल गर्नुभयो । खेलको १२औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । गोलरक्षक सविता मोनगेरलाई लाग्दै फर्किएको बललाई सावित्राले गोलको दिशा दिनुभएको थियो ।

६८औं मिनेटमा सावित्राले दोस्रो गोल गर्नुभयो । रेखा कुमारी पौडेलको पासमा उहाँले गोल गर्नुभएको थियो । ७३औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाउनुभयो । ८५औं मिनेटमा अनिताले नै चौथो गोल गर्नुभयो ।

यस जितसँगै नेपालले समूह ‘ए’ मा तीन अंक जोडेको छ । नेपालले अब भदौ २७ गते श्रीलंकाको सामना गर्नेछ । बुधबार प्रतियोगिताको समूह ‘बी’ मा दुई खेल हुनेछ । पहिलो खेलमा भारत र पाकिस्तान दिउँसो १ बजे खेल्नेछन् ।

घरेलु मैदानमा नेपाल इतिहास रच्ने दाउमा छ । यसअघिका पाँच संस्करणमा नेपाल चार चोटी फाइनलमा र एकचोटी सेमिफाइनलमा रोकिएको थियो । सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो ।

च्याम्पियनसिपको उपाधि भारतबाहेक अन्य राष्ट्रले हालसम्म जित्न सकेको छैनन् । चार पटकसम्म नेपाल फाइनल पुग्दै भारतसँग नै पराजित हुँदै आएको छ । उक्त प्रतियोगिताको फाइनल खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित हुँदै दोस्रो बनेको थियो ।

यसैगरी सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो संस्करणको खेलमा नेपाल भारतसँगै पराजित भयो । त्यतिबेला नेपाल फाइनलमा भारतसँग तीन÷एक गोलअन्तरले पराजित भयो र दोस्रो संस्करणको उपाधि पनि भारतले नै चुम्यो ।

सन् २०१४ मा पाकिस्तानमा भएको समूह चरणको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनल यात्रा तय गर्दा फेरि पनि नेपाल र भारतकै भेट हुन पुग्यो । त्यस संस्करणमा नेपालले इतिहास रच्न सकेन र फाइनल खेलमा भारतसँग नेपाल ६-० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो । प्रतियोगितामा भारतले उपाधिको ह्याट्रिक पूरा गर्दा नेपाल भने तेस्रो पटक पनि उपविजेतामा नै सीमित भयो ।

च्याम्पियनसिपको चौथौ संस्करण भारतले आयोजना गर्‍यो । सन् २०१६ मा आयोजना भएको उक्त प्रतियोगिताको उपाधि भारतले नै जित्यो । तेस्रो संस्करणको खेलसम्म दोस्रो बन्दै आएको नेपाल यसपटक त सेमिफाइनलमा नै सीमित बन्यो ।

यसपटक पनि भारत तगारो बन्दा नेपाल सेमिफाइलबाट नै बाहिरिनुपर्‍यो । सेमिफाइनल खेलमा नेपाल भारतसँग तीन/एक गोलअन्तरले पराजित भयो ।
पाँचौँ संस्करणको खेल भने नेपालले आयोजना ग¥यो । यो खेलमा नेपालका लागि भारत नै बाधक बन्यो । विराटनगरमा सन् २०१९ मा आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत नै भयो । आम दर्शकको समर्थन पाउदा पनि नेपाल भारतसँग नै चुक्यो । लिग चरण पार गर्दै फाइनल पुगेको नेपाल अन्ततः भारतसँग तीन/एक गोल अन्तरले नै पराजित भयो । भारतले पाँचौँ पटक साफ च्याम्पियपनसिपको उपाधि उचाल्दा नेपाल भने चौथो पटकसम्म उपविजेतामा सीमित भयो ।

छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा आयोजक नेपाललसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भूटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ र समूह ‘बी’ । नेपाल भने सजिलो मानिएको समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा श्रीलंका र भूटान छन् । यी दुई टोलीले अहिलेसम्म फाइनल यात्रा तय गरेका छ्रैनन् । समूह ‘ए’ मा भने भारत, बंलादेश र माल्दिभ्स छन् ।
नेपालले उद्घाटन खेलमा भूटानको सामना गरेको छ जसमा विजयी सुरुवात गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्नेछ । यो खेल भदौ २७ गते हुँदैछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यसपटकको साफ च्याम्पियनसिपमा नेपाली कप्तानीको जिम्मेवारी २६ वर्षीय गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले पाउनुभएको छ । प्रतियोगिताको तयारी दौरान नियमित कप्तान रेनुका नगरकोटी घाइते भएपछि सुब्बाले यो अवसर पाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?